Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्जुनधाराका सात परिवारलाई जग्गाधनी पुर्जा वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | (रासस)

भद्रपुर (झापा), ३० असोजः झापाको अर्जुनधारा नगरपालिका–११ मा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका सात परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले आज एक समारोहबीच उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । चार दशकदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले पुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

पुर्जा वितरण गर्दै जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने सरकारको लक्ष्यअनुसार पुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो ।

“जिल्ला भूमि समस्या समाधान समितिले विशेष प्राथमिकता दिएर आगामी दिनमा कामलाई तीव्रता दिनेछौँ । त्यसका लागि समर्पित टोली बनाएर काम गर्ने अवधारणा अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलको आगमनसँगै झापामा जग्गाधनी पुर्जा वितरणको कामले गति लिएको छ । उहाँको नेतृत्वमा एक महिनाको अवधिमा दुईपटक पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ । 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार नयाँ सूचीकरणअनुसार नगरपालिकाका ११ वटै वडामा ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित तथा छ हजार ३५९ अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको छ ।

वर्षौैँदेखि बसोबास गर्दै आएका नागरिकले जग्गाको कानुनी स्वामित्व प्राप्त गर्नु महत्त्वपूर्ण उपलब्धि भएको नगरप्रमुख तामाङले बताउनुभयो । बाँकी लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने उहाँको भनाइ छ ।

यसअघि गत साउन ७ गते अर्जुनधारामा १७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो । झापाका बुद्धशान्ति गाउँपालिका, मेचीनगर नगरपालिका र कनकाई नगरपालिकालगायत अन्य स्थानीय तहमा पनि जग्गाधनी पुर्जा वितरणको काम अघि बढाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan