सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न
भक्तपुर ३० असोजः सूर्यविनायक नगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको ट्रफी वडा नं १० चित्तपोलले हात पारेको छ । आज सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सङ्कटा खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं ९ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै वडा नं १० चित्तपोल विजेता बन्न सफल भएको हो ।
कार्यक्रममा विजेता वडा नं १० लाई नगरप्रमुख वासुदेव थापाले रु एक लाख पुरस्कार, ट्रफी, मेटल र प्रमाणपत्र प्रदान गर्नुभयो । उपविजेता वडा नं ९ नंखेलले नगद रु ५० हजार ट्रफी र मेटल, प्रमाणपत्र तथा तृतीय हुने वडा नं ४ दधिकोटलाई नगद रु २५ हजार ट्रफी, मेटल र प्रमाणपत्र नगरप्रमुख थापाले प्रदान गर्नुभयो ।
आजै सम्पन्न सेमिफाइनल खेलमा वडा नं ४ दधिकोटले वडा नं ८ सिपाडोललाई एकका विरुद्ध चार गोल गर्दै तेस्रो स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा चौथो हुने वडा नं ८ सिपाडोललाई रु १० हजार, प्रमाणपत्र, मेडल प्रदान गरिएको छ ।
उत्कृष्ट खेलाडी वडा नं १० का युथ देउजालाई नगद रु १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट गोलकिपर वडा नं १० का अस्मित देउजा, उत्कृष्ट गोलकर्ता (आठ गोल गर्न सफल) वडा नं १० का रोजित खत्री, उत्कृष्ट प्रशिक्षक वडा नं ९ का दिपेश खत्रीलाई जनही रु पाँच हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख थापाले सूर्यविनायक नगरलाई खेलकुदको उत्कृष्ट हब बनाउने गरी नगरपालिकाले कार्ययोजना कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकालाई खेलकुदको क्षेत्रमा पनि देशकै उत्कृष्ट पालिका बनाउने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमैदानमा पदक जित्न सक्ने प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने अभियान सुरुआत गरेका छौँ, खेलकुदको विकासका लागि नगरपालिकाले रु एक करोडको बजेट विनियोजन गरेका छौँ ।”
सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव एवं कार्यक्रमका सभापति दीपक थापाले यही असोज २५ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाका वडा नं १ देखि १० सम्मको १० वटा टिमले प्रतिस्पर्धा गरेको बताउनुभयो । उहाँले हरेक महिना एक प्रतियोगिता आयोजना गर्ने, खेलकुदको विकाससँगै खेलाडी प्रशिक्षण, खेलाडीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गर्ने र सम्मान गर्ने कार्य गर्दै आएको बताउनुभयो ।

