Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई  लालपुर्जा वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | (रासस)

नारायणगढ (चितवन), ३० असोजः चितवनको इच्छाकामना गाउँपालिका–७ भालुमारा सुन्दरबस्ती र सङ्गम टोलका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी ३२ परिवारलाई आज जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
 
भूमि समस्या समाधान समितिका केन्द्रीय अध्यक्ष बलभद्र बाँस्तोलाको उपस्थितिमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष गणेश अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो ।
 
कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष बाँस्तोलाले लालपुर्जा वितरणमा प्रमुख जिल्ला अधिकारी अर्याल र उहाँको टोलीको महत्वपूर्ण भूमिका रहेको बताउँदै गाउँपालिका अध्यक्षसहित यस कार्यमा खटिएका कर्मचारीलाई धन्यवाद दिनुभयो । यसअघि ३४ र आज थप ३२ परिवारलाई लालपुर्जा वितरण गरिएसँगै चितवनमा ६६ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ,  “भूमि समस्या समाधान समितिको अध्यक्ष भइसकेपछि सम्भवतः यसमा पनि चितवन जिल्ला पहिलो भएको छ । योभन्दा अगाडि हामी ३४ वटा घरपरिवारलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई पुर्जा वितरण गर्न सफल भएका थियौँ । आज ३२ वटा घरपरिवार गरेर ६६ घरपरिवारलाई हामी पुर्जा वितरण गर्न सफल भएका छौँ ।”
 
उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले हालै ल्याएका अध्यादेशले कानुनी जटिलता हटाउन सहयोग पुग्ने बताउनुभयो । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीका लागि राजस्व घटाउने तथा किस्ताबन्दीमा राजस्व तिर्न पाउने व्यवस्थाले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने प्रक्रिया सहज हुने उहाँको भनाइ थियो ।
उहाँले जग्गा उपलब्ध गराउन नसक्ने स्थानीय तहमा नेपाल सरकारले जग्गा अधिग्रहण गरेर भए पनि भूमिहीन दलितलाई उपलब्ध गराउने व्यवस्था अध्यादेशमा रहेको बताउनुभयो ।
 
अध्यक्ष बाँस्तोलाले वन, मध्यवर्ती तथा संरक्षित क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको समस्या समाधान गर्न पनि कानुनी व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार २०६६ साल माघ २८ गतेभन्दा अगाडिदेखि बसोबास गर्दै आएका र स्थानीय तहबाट त्यसको प्रमाणित भएका नागरिकलाई सम्बन्धित कानुनी व्यवस्थाअनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन सकिनेछ ।
 
लालपुर्जा प्राप्त गरेका लाभग्राहीले ६० दिनभित्र सम्बन्धित मालपोत कार्यालयमा गई पुर्जा अद्यावधिक गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले उपलब्ध गराएको जग्गा अद्यावधिक गरेको मितिले १० वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले त्यसपछि पनि जग्गा बिक्री गर्दा पुनः भूमिहीन हुने अवस्था सिर्जना गर्न नपाइने स्पष्ट पार्नुभयो ।
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले लालपुर्जा वितरणको काम देखिएजस्तो सामान्य नभई यसका पछाडि धेरै प्रक्रिया, कानुनी जटिलता र मेहनत जोडिएको बताउनुभयो । दशैँअघि नै इच्छाकामनाका नागरिकलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले कर्मचारीले रातदिन खटेर काम गरेको उहाँको भनाइ थियो ।

उहाँले इच्छाकामना गाउँपालिकाले भूमिहीनको समस्या समाधानका लागि देखाएको सक्रियता अन्य स्थानीय तहका लागि पनि उदाहरणीय हुनुपर्ने बताउनुभयो । स्थानीय तहले आवश्यक कागजात तयार गरी प्रमाणीकरण गरेर पठाएमा समितिले लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन सक्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हामी आयोगका पदाधिकारी, समितिका पदाधिकारी भनेको इन्धन हौँ । इन्जिन भनेको त पालिका हो । यदि इन्जिन मात्रै स्टार्ट भयो भने ए ग्रेडको इन्धन राखेर हामी गाडी गुडाउँछौ भनेर मैले घोषणा गरेको थिए ।
 
उहाँले सरकारले देशभर एकजना पनि भूमिहीन नरहने लक्ष्य राखेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । चितवनका अन्य पालिकामा पनि भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

 
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभा ढकालले लामो समयदेखिको राजनीतिक खिचातानीका कारण वास्तविक भूमिहीन नागरिक लालपुर्जा प्राप्त गर्नबाट वञ्चित भएको बताउनुभयो । उहाँले अहिले सरकारले वास्तविक भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ,“पहिला पुर्जाको नाममा धेरै कागज बाँडिए, तर अहिले आधिकारिक अधिकारसहितको पुर्जा तपाईंहरूको हातमा आएको छ ।”
  
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकामा भूमिहीन सुकुम्बासीको समस्या क्रमशः समाधान हुँदै गएको बताउनुभयो । आज लालपुर्जा वितरण गरिएको वडामा मात्रै करिब ६० प्रतिशत भूमिहीनको समस्या रहेको उल्लेख गर्दै उहाँले जग्गाको नापजाँच र कित्ताकाटको काम अघि बढाइएको जानकारी दिनुभयो ।

“हामीले करिब तीन हजार ७०० घरधुरीको जग्गा कित्ताकाट गरेर नापजाँच गरेका छौँ”, उहाँले भन्नुभयो, “अब क्रमशः भूमिहीन सुकुम्बासीको समस्या समाधान हुँदै जानेछ ।”
 
नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाले इच्छाकामना गाउँपालिका–७ मा आज वितरण गरिएका ३२ सहित यसअघि साउन ८ गते वितरण गरिएका  ३४ पुर्जासमेत गरी भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको बताउनुभयो ।
 
उहाँका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका करिब ४५ हजार निवेदन परेका छन् । ती निवेदनमाथि अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
 
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति मिनिमाधव खनाल,  इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्री, डिभिजन वन कार्यालयका प्रमुख विष्णु आचार्य, इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापामगर, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, तथा नापी अधिकृत वीरेन्द्र पौडेललगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan