सङ्कटमा युरोप: आन्दोलन, रङभेद र नेपालीका लागि पाठ
डा.युवराज संग्रौला
आज युरोपमा हिंसात्मक विद्रोह भड्किएको छ— मड्रिड, मिलान, पेरिस जताततै। यी आन्दोलनमा दुईवटा धार देखिन्छन्। मुख्य धारचाहिँ "युरोपमा आप्रवासीप्रतिको घृणा" व्यक्त गर्ने प्रवृत्ति संग जोडिएको देखिन्छ। यो धार "आफूलाई त्यस देशका धर्तीपुत्र भन्नेहरू"को हो। अर्को धार स्वयं आप्रवासीहरूको छ; जस्तै— पेरिसमा भएको आन्दोलनमा प्यालेस्टाइनी झण्डा र इस्लामिक आस्थावादीहरू छन्। यो आन्दोलनका पछाडि त्यहाँका शासकहरू अपराधी तत्त्वको हात देखाइरहेका छन् र ऐतिहासिक धरोहर जलाएकामा कडा सजाय गर्ने दाबी गरिरहेका छन्।
म एउटा प्रश्न गर्छु— यदि त्यांहाका धरोहर जलाउने कार्य अपराध हो भने सिंहदरबारचाहिँ धरोहर थिएन? किन युरोपले त्यस अपराधलाइ अपराध भन्न सकेन त्यसबेला? युरोप आज आर्थिक रूपमा जर्जर अवस्थामा छ, तर पनि युरोप आफूलाई मालिक र अरूलाई दास समाज नै ठान्छ। एक-डेढ वर्षअघि मात्र हो, बोरेल नामका एक जनाले लेखे— "युरोप बगैँचा हो, एसिया र अफ्रिकाचाहिँ जङ्गल।" यो जङ्गलको परिभाषामा उनले रुसलाई पनि हाले। अनि, याद आउँछ एक बीबीसी पत्रकारले भनेकी थिइन्— "नीला आँखा भएका युक्रेनीमाथि यस्तो अन्याय?"
आन्दोलनमा भएका आगलागी र त्यहाँ बस्ने "आवासी र आप्रवासी"बिचको अन्तरविरोध महत्त्वपूर्ण छ; जसरी सिंहदरबार जल्दा जालझेलबाट नागरिकता लिएका, आपराधिक मानसिकता भएका र छिमेकी देशबाट पसेका मानिस बढी थिए।
१. हामीले ख्याल गर्नुपर्ने कुराहरू छन्। एकातिर संसारमा सामाजिक सञ्जालले ध्वस्त पारेको मानवीय संस्कृतिका ठाउँमा परपीडक मनोवृत्ति मौलाएको छ र त्यसले मानिस र पशुका बिचमा अन्तर देख्दैन। यसको मूल थलो पनि युरोप नै हो। युरोपमा दर्शन, नैतिकता र सदाचारको पतन स्वयं एउटा नियति बनेको छ। यो नियतिसँग हिंसा टाँसिएको हुन्छ। अपराधको गुँड गरिबी र वञ्चितीकरण नै हो, जो युरोपको आजको यथार्थ हो। तैपनि युरोपेली शासकहरू युद्धलाई नै सभ्यता मानिरहेका छन् र युद्धमा सम्पत्ति नासेर नागरिकलाई भोजन र सुविधाहीन बनाइरहेका छन्। यो परिस्थितिले युरोपमा आर्थर कोम्ट गोबिन्युको सिद्धान्त पुनरावृत्ति भइरहेको छ। त्यो हो— नीला आँखा, ब्लन्ड कपाल र सेतो छाला भएका मानिसको रगत शुद्ध छ, उनीहरू नै मानिसका उच्च नस्ल हुन्।
२. यस मान्यताको क्रमस पुनरुथानले घोर दक्षिणपन्थी वा भेदभाववादी राजनीतिक शक्ति सत्तामा पुगिरहेका छन्। यसको उत्कर्ष भनेको "फासीवाद र नाजीवाद" नै हो। नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले देश फर्किने सोच बनाउनु राम्रो हुन्छ अव। हामी हाम्रो देशको निर्माण गर्न सक्छौँ। हामीसँग स्रोत छ। मेरो भनाइ के हो भने युरोपका वर्तमान आन्दोलन हिजोका जस्ता सामाजिक न्यायका आवाज मात्र होइनन्। यो एउटा त्यस्तो सङ्केत हो, जो एउटा सदाचार र समान विश्व निर्माणप्रति समर्पित छैन। यो पश्चिमविरुद्ध अरूबिचको विभाजन, नस्लवाद र युद्धद्वारा एकाधिकार कायम गर्ने "दक्षिणपन्थी" राजनीतिक मनसाय संग जोडिएको छ।
३. यो प्रवृत्तिको उत्पत्ति किन भएको हो? हामी नेपालीलाई विश्लेषणभन्दा हल्ला र जत्थाउन्माद मन पर्छ (सबैलाई भनेकोचाहिँ होइन)। इतिहास हेरौँ। बेलायत, फ्रान्स, स्पेन, बेल्जियम, जर्मनी, अमेरिका र जापान मिलेर दोस्रो विश्वयुद्धपछाडि औपनिवेशिक अर्थतन्त्रलाई "विश्व अर्थतन्त्र" घोषणा गरे। तर यो विश्व अर्थतन्त्र संसारका गरिबहरूको जीवनको मूल्यमा बनेको थियो, र स्वयं सेता गरिबहरू पनि शोषणको मारमा थिए। परिणामस्वरूप संसारको सबै धन पश्चिमका सात प्रतिशत मानिसमा केन्द्रित भयो। बाँकी संसार औलो, भोक र हिंसाको शिकार भयो। तर विगत ४० वर्षदेखि यो असमान विश्व अर्थतन्त्रका विरुद्ध एसिया, युरेसिया, दक्षिण अमेरिका र अफ्रिका उठ्न थाले। उनीहरूले उत्पादन पुँजीवादको विरोध गरेनन्। उनीहरूले राज्यमा अधीन कायम गरेर धन सीमित खर्बपतिमा केन्द्रित गर्ने एकाधिकारवादी वित्त पुँजीवादी व्यवस्थालाई अस्वीकार गरे। यसैबाट जन्मिए— दक्षिण-दक्षिण गठबन्धन, ब्रिक्स (BRICS) तथा साङ्घाई सहयोग आर्थिक मञ्च। तर यो बहुध्रुवीयता पश्चिमविरोधी होइन, "समानतामा आधारित विश्व अर्थतन्त्र" निर्माणको नयाँ युगिन सोच हो।
४. पश्चिमले यो नयाँ दौरलाई स्वीकार गर्न चाहेन वा परिवर्तनको दौरमा आफूलाई समाहित गर्न उसको "आफू सभ्य र अरू दास" भन्ने मनोवृत्तिले दिएन। परिणामस्वरूप, दक्षिण-दक्षिणको आर्थिक सहकार्यका विरुद्ध युरोप नेटोको नाममा युरेसियामा अधीन जमाउन नियतले रुस ध्वस्त पार्ने खेलमा लाग्यो, र नेटो विस्तार युक्रेन सम्म पुग्यो। युरोपेली सङ्घ युरोपेली सम्भ्रान्तहरूको युद्ध र विभाजन गर्ने सजिलो संयन्त्र बन्यो। अनि मौलाए दक्षिणपन्थी सङ्कीर्ण नेताहरू; जस्तै— म्याक्रोन, उर्सुला भोन आदि।
५. उनीहरूले पैसाजति युक्रेनलाई मोहरा बनाएर रुसमाथिको आक्रमणमा लगाए। यदि यो लडाइँ मानवताका लागि हो भने डोनबास क्षेत्रमा युक्रेनी राष्ट्रवादीले गरेका रुसी मूलका मानिसको आमहत्याप्रति उनीहरू किन नबोलेका हुन् त? युद्धले सबै आर्थिक स्रोत समाप्त गरिरहेको छ। युरोपको अर्थतन्त्र धाराशायी बनिरहेको छ। मानिस जाडोमा कठ्याङ्ग्रिन बाध्य छन्। उद्योगहरू बन्द हुँदै छन्। ठुला उद्योग अमेरिका सर्दै छन्।
अर्थात् यो आन्दोलन "जेन्जी (Gen Z) को आन्दोलन" मात्र होइन। यो समग्र आन्दोलन हो, जो युरोपेली समाजभित्र उग्रराष्ट्रवादी, धर्मान्ध, नस्लवादी धनीहरू र गरिखानेहरूबिचको आन्दोलन हो। अहिले सडकमा सँगै छन्, तर जित गरिखानेको हुँदैन। सत्ताका दक्षिणपन्थी र सडकका दक्षिणपन्थीको स्वार्थको ध्रुवीकरण हुनेछ। त्यसको मार भोग्नेचाहिँ आप्रवासी हुनेछन्। त्यसपछि युरोप र इस्लामिक देशहरूबिचको सम्बन्ध अझ खराब हुनेछ। अब युरोपलाई दक्षिण-दक्षिणलाई पराजित गर्न सम्भव छैन। डोनाल्ड ट्रम्पले रुसमाथिका प्रतिबन्ध फुकाउन थालेबाट एउटा भित्री रहस्य खुलेको देखिन्छ— अबको विश्व अर्थतन्त्रमा पश्चिमको अधीन सम्भव हुँदैन।
के अब सबै नेपालीहरूले युरोप र अमेरिकाबाट देश फर्कने र नेपालको निर्माणमा लाग्ने बेला भएन र? अस्थिर देशमा बसेर होइन, आफ्नो गरिब देशलाई धनी बनाउनेतर्फ सोच्ने बेला भयो होला। "वाद र अल्गोरिदम लोकप्रियतावाद" बाट होइन, देश दिमागको समसामयिक परिवर्तनद्वारा बन्छ। मौलिक चिन्तन र मौलिक रणनीतिले मात्र देश धनी हुन्छ।

