Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | रासस/एएफपी

फ्रान्समा शनिबार लगातार तेस्रो सातासमेत प्रदर्शन हुने भएपछि सम्भावित हिंसा रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हेलोविन पर्वसमेत परेकाले प्रदर्शनका क्रममा हिंसा भड्किन सक्ने आशङ्कामा पसल तथा व्यावसायिक प्रतिष्ठानहरूले आफ्ना अगाडिका भाग काठका फल्याकले छोपेर बन्द गरेका छन् ।

    राष्ट्रपतीय निर्वाचन आउन छ महिना मात्र बाँकी रहँदा फ्रान्सको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । जनमत सर्वेक्षणहरूमा अतिदक्षिणपन्थी नेतृ मरिन ले पेन अगाडि देखिनुभएको छ ।

    राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा देशमा यस्तो अशान्त अवस्था रहनु सामान्य नभएको बताउनुभएको छ । 

    अक्टोबर १७ मा भएको हिंसा पुनः नदोहोरियोस् भन्ने उद्देश्यले शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । यो सङ्ख्या गत साता परिचालन गरिएको सुरक्षाकर्मी बराबर हो ।

    राजधानी पेरिसमा ४० भन्दा बढी मेट्रो स्टेसन बन्द रहनेछन् भने ट्राम सेवा पनि प्रभावित हुनेछन् ।

    गृहमन्त्रीका सहयोगी लरेन्ट नुनेजले दुई साताअघिकै स्तरको सडक हिंसा हुन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ । त्यसबेला झडप, पसलमा लुटपाट र सार्वजनिक भवनमा आगजनी भएका दृश्य विश्वभर प्रसारित भएका थिए ।

    प्रदर्शनमा ‘येलो भेस्ट’ आन्दोलनका कार्यकर्ता, ट्रेड युनियन तथा उच्च माध्यमिक र विश्वविद्यालयका विद्यार्थी सहभागी छन् । सुरुमा बढ्दो जीवनयापन खर्च, असमानता र शिक्षाको खस्कँदो अवस्थाविरुद्ध केन्द्रित आन्दोलनले अहिले नागरिक स्वतन्त्रताको संरक्षण र प्रदर्शन गर्ने अधिकारको मागसमेत उठाएको छ ।

    प्रहरीको कडा कारबाहीका क्रममा केही प्रदर्शनकारी गम्भीर घाइते भएपछि आन्दोलनको दायरा थप फराकिलो भएको हो ।

    हिंसाको आशङ्कामा व्यवसायी चिन्तित

    प्रहरी स्रोतका अनुसार अधिकारीहरूमा सम्भावित हिंसालाई लिएर ठूलो चिन्ता छ । “सबै कुरा शान्तिपूर्ण रूपमा टुंगिन्छ भनेर सोच्ने कुनै आधार छैन,” एक प्रहरी स्रोतले जनाएको छ । 

    फ्रान्सको चेम्बर अफ कमर्सका अध्यक्ष एलेन डि क्रेसेन्जोले पनि व्यवसायीहरू शनिबारको अवस्थालाई लिएर चिन्तित रहेको बताउनुभएको छ ।  “पसल सञ्चालकहरू शनिबारको दिन छिट्टै सकियोस् भन्ने चाहन्छन्,” उहाँले फ्रान्स इन्टर रेडियोलाई बताउनुभयो ।

    उहाँका अनुसार हेलोविन पर्वले अवस्थालाई थप जटिल बनाउन सक्छ । पर्वका क्रममा मानिसहरूले मास्क तथा नकाब लगाउने भएकाले प्रदर्शनकारीलाई पहिचान गर्न कठिन हुन सक्ने उहाँको भनाइ छ ।

    सम्भावित हिंसालाई ध्यानमा राख्दै फ्रान्सका विभिन्न सहरमा पसल तथा व्यावसायिक प्रतिष्ठानका अगाडिका भाग काठका फल्याकले छोपिएका छन् । पेरिसको एउटा पसलमा फल्याकले छोपिएको भागमा कालो रङले यस्तो सन्देश लेखिएको छ, “यी फल्याकपछाडि न त कुनै शक्ति छ, न त कुनै शत्रु । यहाँ केवल एउटा परिवार र उनीहरूको काम छ ।”

    गृहमन्त्रीले बिहीबार सार्वजनिक अशान्तिको उच्च जोखिम रहेको चेतावनी दिँदै प्रदर्शन गर्न अनुमति दिइए पनि सहरका मुख्य केन्द्रमा भने रोक लगाइने बताउनुभएको थियो । 

    ‘अन्धकारको रात’ को आह्वान

    पेरिस प्रहरीले प्रदर्शनकारीलाई पूर्वी पेरिसको बास्टिल र नेसन क्षेत्रबीच जुलुस निकाल्न रोक्ने प्रयास गरेको थियो । तर अदालतले प्रहरीको उक्त प्रतिबन्ध उल्ट्याइदिएको छ ।

    नुनेजका अनुसार अधिकारीहरूले सामाजिक सञ्जालमा शनिबार साँझ हेलोविनका नाममा भेला हुन आह्वान गरिएका सन्देश फेला पारेका थिए । ती सन्देशमा प्रदर्शनकारीलाई ‘क्रान्ति’ सुरु गर्न आग्रह गरिएको थियो ।

    सामाजिक सञ्जालका केही पोस्टमा विशेष पहिरन लगाएर ‘अन्धकारको रात’ का लागि भेला हुन आह्वान गरिएको थियो । 

    नुनेजले प्रदर्शनकारीलाई अनुहार छोप्ने मास्क लगाउन अनुमति नदिइने चेतावनी दिएका छन् ।

    शुक्रबार पेरिसको एउटा विशेष पहिरन बिक्री गर्ने पसलमा ग्राहकको भीड लागेको थियो । तर पसलका व्यवस्थापक डिडियर जारसाले ग्राहकले किनेका सामग्री के प्रयोजनका लागि प्रयोग गर्छन् भन्नेबारे सोध्नु आफ्नो काम नभएको बताउनुभयो ।

    “हामी यहाँ प्रहरीको भूमिका निर्वाह गर्न बसेका होइनौँ,” उहाँले भन्नुभयो ।

    प्रदर्शन गर्ने अधिकारको माग

    अक्टोबर १७ मा भएको झडप, लुटपाट र तोडफोड रोक्न सुरक्षा तथा गुप्तचर संयन्त्रले प्रभावकारी काम गर्न नसकेको अधिकारीहरूले स्वीकार गरेका छन् ।

    त्यसयता विभिन्न सहरमा प्रदर्शन नियन्त्रण गर्ने र कफ्र्यु जारी गर्ने उपाय अपनाउँदै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    पेरिसका रिपब्लिक र सातेले–ले हाल क्षेत्रमा शनिबार र आइतबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु लगाइने भएको छ ।

    मेयरको कार्यालयका अनुसार सार्वजनिक स्थलको सरसफाइका लागि सप्ताहन्तमा एक हजारभन्दा बढी नगरपालिका कर्मचारी परिचालन गरिनेछ ।

    राम्रो शैक्षिक वातावरणको माग गर्दै उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले हप्तौँसम्म गरेको प्रदर्शनपछि पछिल्लो अशान्ति सुरु भएको हो ।

    बढ्दो जीवनयापन खर्चविरुद्धको प्रदर्शन जारी रहेकै बेला गत साता पेरिसबाहिर भएको गोलीकाण्डले पनि देशलाई स्तब्ध बनाएको थियो । उक्त घटनामा एक जनाको मृत्यु भएको थियो भने ११ वर्षीया बालिकासहित सात जना घाइते भएका थिए । पीडितमध्ये अधिकांश विदेशी मूलका थिए ।

    उक्त घटनापछि जातीय घृणालाई सामान्यीकरण गर्ने प्रवृत्तिविरुद्ध विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan