Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस-एएफपी)

वासिङ्टन, २० कात्तिक : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गर्नुभएको छ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पार्नुभएको छ ।

द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गर्नुभयो । यसअघि ब्लुमबर्ग न्युजले उहाँले पदबाट हट्ने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग छलफल गरेको र पदमै रहन आग्रह गरिएको समाचार प्रकाशित गरेको थियो ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहनुभएका रुबियो सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिनुभएको छ । तर उहाँले आफ्नो राजनीतिक भविष्यबारे टिप्पणी गर्न अस्वीकार गर्दै सन् २०२८ को विषयमा अहिले कुरा नगर्ने बताउनुभयो ।

अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारको खण्डन गरेको छ । मन्त्रालयका सहायक सचिव डिलन जोनसनले ब्लुमबर्गको समाचारलाई पूर्णतः काल्पनिक भन्नुभएको छ । रुबियोले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारी दिने योजना बनाएको भन्ने अर्को समाचारलाई पनि उहाँले आधारहीन बताउनुभएको छ ।

मध्यावधि निर्वाचनअघि रुबियो ट्रम्पसँग चुनावी अभियानमा सहभागी हुनुभएको थियो । उहाँले चुनावी सभामा उत्साहित समर्थकलाई सम्बोधनसमेत गर्नुभएको थियो ।

रुबियोले यसअघि आफू राष्ट्रपतिको उम्मेदवार बनेमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने बताउनुभएको थियो । भान्सलाई पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan