Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोप–३१ मा जलवायु सङ्कट समाधानको चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस-एएफपी)

पेरिस, २० कात्तिक : विश्वव्यापी तापक्रम वृद्धि र प्राकृतिक विपद्का घटना बढिरहेका बेला टर्कीमा सोमबारदेखि सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा जलवायु सङ्कट समाधानका ठोस उपाय खोजिने भएको छ । तर जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने, जलवायु वित्त उपलब्ध गराउने र बढ्दो भू–राजनीतिक तनावका विषयमा देखिएको मतभेदले सम्मेलनमा सहमति जुटाउन कठिन हुने देखिएको छ ।

टर्कीको अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा करिब २०० देशका प्रतिनिधिसहित एक लाखभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा विगतका प्रतिबद्धता कार्यान्वयन, स्वच्छ ऊर्जाको विस्तार र विकासशील देशलाई जलवायु प्रभावसँग जुध्न आर्थिक सहायता उपलब्ध गराउने विषय प्राथमिकतामा रहनेछन् ।

नेपालमा विनाशकारी बाढी, युरोपमा अत्यधिक गर्मी र इन्डोनेसियामा डढेलोका घटना बढिरहेका बेला यस वर्षको अन्त्यतिर शक्तिशाली एल निनो उत्कर्षमा पुग्ने अनुमान गरिएको छ ।

यसले सन् २०२६ वा २०२७ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन सक्ने आकलन छ । संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम पूर्वऔद्योगिक अवस्थाभन्दा १.५ डिग्री सेल्सियस माथि पुगेको चेतावनीसमेत दिएको छ ।

सम्मेलनको अध्यक्षता टर्कीले गर्नेछ भने वार्ताको नेतृत्व अस्ट्रेलियाले गर्नेछ । टर्कीले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा मागमा विद्युत्को हिस्सा हालको २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पु¥याउने लक्ष्य अघि सारेको छ ।

यद्यपि, जीवाश्म इन्धनको प्रयोग घटाउने विषय र विकासशील देशलाई अनुकूलनका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने मुद्दामा मतभेद कायमै छ ।

सन् २०२३ को कोप–२८ मा जीवाश्म इन्धनबाट क्रमशः टाढिने प्रतिबद्धता जनाइए पनि त्यसको कार्यान्वयनमा सहमति जुट्न सकेको छैन ।

गत वर्षको कोप–३० पनि जीवाश्म इन्धनको स्पष्ट उल्लेखबिनै सम्पन्न भएको थियो । यसपटक अफ्रिकी देशहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराइने वित्त तीन गुणा बढाउन माग गरेका छन् ।

यसैबीच, अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिएपछि जलवायु अभियानकर्मी उत्साहित भएका छन् ।

अमेरिकी प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन भने औपचारिक वार्तामा सहभागी हुने छैन । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा पनि आगामी साता सम्मेलनमा सहभागी हुन अन्ताल्या जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan