झापामा अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता
झापा, २१ कात्तिक: महिला जनचेतना केन्द्रले बालविवाह अन्त्य गर्ने उद्देश्य राखेर झापा जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिता गर्ने भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आगामी मङ्सिर ९ गतेदेखि काँकरभिट्टा खेल मैदानमा प्रतियोगिता आयोजना गरिने संस्थाकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले जानकारी दिनुभयो ।
‘बालविवाह अन्त्य अभियानमा, महिलाको शक्ति खेल मैदानमा’ भन्ने नाराका साथ आयोजना गरिने प्रतियोगिताले महिला तथा किशोरीहरूको फुटबल खेलमा सहभागिता अभिवृद्धि गर्ने, खेलकुदमार्फत लैङ्गिक समानता तथा महिला सशक्तिकरणको सन्देश प्रवाह गर्ने र किशोरीहरूको आत्मविश्वास बढाउने उद्देश्य राखेको उहाँले बताउनुभयो ।
जिल्लाका १५ वटै स्थानीय तहमध्ये १० वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुने प्रतियोगिताका लागि खेलमैदान व्यवस्थापन, सहभागी टोलीको दर्तालगायत काम सुरु भइसकेको संस्थाकी अध्यक्ष सीता गुरुङले जानकारी दिनुभयो । खेलको रेफ्रीसमेत महिला राखिने उहाँको भनाइ छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि रु नौ लाख ६२ हजार खर्च हुने अनुमान गरिएको छ । प्रथम विजेतालाई रु एक लाख ११ हजार र उपविजेतालाई रु ५१ हजार पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यसैगरी उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, बेस्ट डिफेन्स र बेस्ट मिडफिल्डरलाई जनही रु तीन हजार १०० का दरले पुरस्कार वितरण गरिनेछ ।


