पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
भोजपुर, २२ कात्तिकः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।
स्तुपा निर्माणसँगै पर्यटकको सहज आवागमनका लागि सिँढीसहितको पदमार्गसमेत निर्माण गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटबाट स्तुपा निर्माण गरिएको हो । स्तुपा निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो ।
काठमाडौँस्थित बौद्धनाथ स्तुपाको शैली र आकारलाई आधार मानेर निर्माण गरिएको उक्त स्तुपा २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गरी निर्माण गरिएको स्तुपाले पाँचधारेको धार्मिक महत्व थप बढाएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।
“पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “पर्यटकीय क्षेत्रको विकाससँगै बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर स्तुपा निर्माण गरेपछि यहाँको आकर्षण बढेको छ । यस क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।”
भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पाँचधारेमा स्तुपा निर्माणसँगै घुम्न आउने पर्यटकको सङ्ख्या बढेको स्थानीयवासी विनोदकुमार राईले जानकारी दिनुभयो । पाँचधारे क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका विभिन्न स्थल रहेकाले यसको विकासमा भइरहेको कामले स्थानीयवासीमा उत्साह थपेको उहाँको भनाइ छ ।
“पाँचधारे क्षेत्रमा धेरै सम्भावनायुक्त पर्यटकीयस्थल छन् । पर्यटकलाई लक्षित गरेर स्थानीय सरकारको पहलमा भइरहेको पूर्वाधार विकासका कामले हामीमा उत्साह थपिएको छ”, राईले भन्नुभयो । धार्मिक तथा पर्यटनको सम्भावना बोकेको पाँचधारेमा आवश्यक पूर्वाधारको विकाससँगै प्रचारप्रसार गर्न सके यो क्षेत्र भोजपुरको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयवासीको भनाइ छ ।


