बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला
कर्णाली, २२ कात्तिकः सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ ।
सुर्खेत बराहाताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली परिचालन गरिएको हो ।
उक्त सामुदायिक वनमा खोजतालस गर्दा झाडीभित्र लुकाइछिपाई राखेको अवस्थामा चार थान साबुत र दुईवटा नाल बेसाबुत गरी जम्मा छ थान अवैध भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।
त्यसैगरी, सोही गाउँपालिकाको वडा नं ७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचनापछि प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । उक्त स्थानमा खोजतलास गर्दा तीन थान बेसाबुत र पाँच थान साबुत गरी जम्मा आठ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको सूचना अधिकारी बोहोराले बताउनुभयो । फेला पारिएका अवैध भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


