आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो
झापा, २२ कात्तिकः कमल गाउँपालिका–५ मा आदिवासी स्मृति रङ्गशालाका लागि वर्तमान सरकारले बहुवर्षीय परियोजना स्वीकृत गरेपछि रङ्गशाला निर्माणले गति लिने भएको छ ।
विसं २०६७ वैशाखमा सो स्थानमा रङ्गशाला निर्माण गर्नका लागि तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले परियोजना शिलान्यास गर्नुभएको थियो । तर, राजनीतिक खिचातानीका कारण हालसम्म रङ्गशालाको निर्माण अघि बढ्न सकेको थिएन ।
सङ्घीय सरकारले यसपालि आदिवासी रङ्गशाला निर्माण अघि बढाउने भन्दै रु ३० करोडको बहुवर्षीय परियोजना स्वीकृत गरेको रङ्गशाला निर्माण समितिका महासचिव दिपेनवाला राईले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा रङ्गशाला निर्माणका लागि रु तीन करोड बजेट विनियोजन भएको छ । उक्त बजेटलाई कार्यान्वयन गर्ने विषयमा कमल गाउँपालिकाले आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानसहितका सरोकारवाला निकायसँग संयुक्त बैठक सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।
कमल गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका निर्माण समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको संयुक्त बैठकले चालु आवको बजेटबाट डिपिआर र पूर्वाधारको काम सुरु गर्ने निर्णय भएको छ । बैठकमा सघन सहरी विकास कार्यालय भद्रपुर, पाथिभरा सशस्त्र तालिम केन्द्र, पूर्वाधार विकास कार्यालय भद्रपुर र आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
चालु आवमा विनियोजित रु तीन करोड खर्च हुने र बाँकी बजेट आगामी दुई वर्षको बजेटबाट विनियोजन हुने भनेर सङ्घीय सरकारबाट प्रतिबद्धता व्यक्त भएको प्रतिष्ठानका महासचिव राईले बताउनुभयो । निर्माणस्थलमा आदिवासी जनजातिका ९०० भन्दा बढी चिहान हटाएर रङ्गशाला निर्माण गरिने भएको हुँदा सुरुमा सो रङ्गशालाको नाम ‘आदिवासी स्मृति रङ्गशाला’ प्रस्ताव गरिएको थियो । पछि रङ्गशालाको नाम फेरेर ‘मदन भण्डारी रङ्गशाला’ राख्ने प्रयास भएपछि राजनीतिक वृत्तमा विवाद भएको थियो । विवादकै कारण रङ्गशाला निर्माण अलपत्र बनेको हो ।


