Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानसँगको वार्तामा प्रगति नभएको रुबियोको भनाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस / एएनआई)

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताउनुभएको छ । उहाँले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

    जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको बताउनुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहनुभएको उल्लेख गर्दै उहाँले इरानका मागहरू व्यावहारिक नरहेको टिप्पणी गर्नुभयो ।

    यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिनुभएको छ । आइतबार सामाजिक सञ्जाल एक्समार्फत उहाँले अमेरिकी मतदाताले आफ्नो निर्णय गरिसकेको उल्लेख गर्दै अब युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व चर्काउने भन्ने निर्णय वासिङ्टनको हातमा रहेको बताउनुभयो ।

    अराघचीले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको जनाउँदै सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने सर्त पूरा गर्न अमेरिकालाई आग्रह गर्नुभएको थियो । प्रस्ताव अस्वीकार गरी युद्ध रोजेमा इरानी सेनाले कडा जवाफ दिने उहाँको चेतावनी थियो ।

    तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास रोकिएको बताउनुभयो । निर्वाचनको परिणामले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै उहाँले मध्यस्थकर्ताहरूले पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बन्न केही समय लाग्ने बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan