प्रधानमन्त्री बालेनको प्रतीक्षामा दिल्ली, भ्रमणबाट बालेनले के सन्देश देलान् ?
काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज अपराह्न भारतको राजकीय भ्रमणमा दिल्ली ओर्लँदा उनको कार्यसूची विगतका नेपाली प्रधानमन्त्रीहरू भन्दा फरक हुने बताइएको छ।
स्थानीय समयअनुसार आइतवार अपराह्न ३:४५ बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको स्वागत प्राप्त गर्ने नेपाली प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल सोमबार अपराह्न ४:५० मा स्वदेश फर्किने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
शनिवारसम्म पनि दुवै देशका अधिकारीहरू भ्रमणका विविध प्राविधिक पक्षहरूबारे छलफलमा रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
गएको वर्ष मार्चमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री बालेनको दुई दिने राजकीय भ्रमण हुन लागेको घोषणा शुक्रवार नेपाल र भारतले गरेका थिए।
भ्रमण किन महत्त्वपूर्ण ?
भारतका आपूर्ति तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपाली प्रधानमन्त्री बालेनलाई विमानस्थलमा स्वागत गर्ने दिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए। भारतीय विदेश मन्त्रीले प्रधानमन्त्री बालेनलाई उनी बसेकै ताज महल होटलमा गएर भेट्ने कार्यक्रम छ।
सोमवार भ्रमणका सर्वाधिक महत्त्वपूर्ण कार्य तालिकाहरू छन्। त्यस दिन बिहान राष्ट्रपति भवनमा गएर गार्ड अफ अनर ग्रहण गर्नेदेखि भारतका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताका कार्यक्रमहरू छन्।
हैदराबाद हाउसमा बिहान ११ बजेबाट नेपाल र भारतका प्रधानमन्त्रीबीचको भेटवार्ता सुरु हुने र उक्त औपचारिक छलफल सकिएपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी पत्रहरूमा हस्ताक्षर गरिने भनिएको छ। त्यसमा अयोध्याबाट जनकपुरसम्म सञ्चालन हुने घोषणा गरिएको रेल सेवाको उद्घाटनको कार्यक्रम पनि पर्छ।
प्रधानमन्त्री बालेन त्यहाँबाट भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँगको भेटवार्ताका लागि राष्ट्रपति भवन पुग्नेछन्।
नेपाल चीन सीमामा अवस्थित भोटेकोशी नदीमा गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालले जलवायु सङ्कटसँग जुझ्न र विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग खोज्दै आएको छ।
त्यही भएर सत्ता सम्हालेपछि कुन देश पहिले भ्रमण गर्ने कुरालाई खासै ध्यान नदिई प्रधानमन्त्री बालेन राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका थिए।
सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेटवार्तापछि भारतले नेपालका बाढी प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि सहयोग घोषणा गर्ने ठानिएको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले बाढीपछिको पुनर्निर्माण, सडक पूर्वाधार र ऊर्जासहितका परियोजनाका लागि २ अर्ब डलर भन्दा बढीको ऋण एवं अनुदान सहयोग खोजेका खबरहरू आएका छन्।
भ्रमणको पूर्व सन्ध्यामा नेपालका परराष्ट्र सचिवले दुई पक्षीय साझेदारीहरूलाई थप गति प्रदान गर्नुका साथै नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने ठोस लाभ प्राप्त हुने अपेक्षा गरिएको बताएका थिए।
भारतले चाहिँ सम्पर्क सञ्जाल, व्यापार र वाणिज्य, जलस्रोत र ऊर्जसम्मका विषयमा छलफल गरिने उल्लेख गरेको छ।
नेपाल भारत हवाई सम्पर्क सञ्जाल विस्तारदेखी नेपालले माग गर्दै आएको हवाई रुटका विषयहरूमा पनि सहमति खोज्ने प्रयास दुवै पक्षहरूले गरिरहेका छन्।
विज्ञहरू के भन्छन्?
नेपाल-भारत प्रबुद्ध समूहमा भारततर्फका नेतृत्वकर्ता भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारी नेपालका युवा प्रधानमन्त्रीलाई भारतले उपयुक्त व्यवहार गर्ने भन्दै प्रधानमन्त्री बालेनको भ्रमण सफल हुने आफूले ठानेको बताउँछन्।
उनले भने, "नेपालबाट आएका ए, बी, सी जो कोही हुन् भारतले सकारात्मक व्यवहार गर्छ। हाम्रा परम्परा, सभ्यताहरू एउटै छन्। को प्रधानमन्त्री छ वा को मुख्यमन्त्री छ भन्ने कुराले खासै अर्थ राख्दैन।"सही सल्लाहकार र साथीहरू भएमा बालेन सफल नेता हुने उनको टिप्पणी छ।
"भारतमा प्रधानमन्त्री मोदीको निश्चित गुणहरू छ। पाको नेता भएका नाताले म भन्न सक्छु, युवा पुस्ताहरू आउनुपर्छ। युवा भए पनि बालेन शाहले काठमाण्डूको मेअरको अनुभव हासिल गरेका छन्। मेअरका रूपमा प्रशासन चलाएको अनुभव छ तर देश चलाउने प्रधानमन्त्रीले मात्रै होइन। उनका सल्लाहकार, क्याबिनेट सदस्यको सबैको भूमिका हुन्छ।"
तपाईँ भारतले बालेन सरकारसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने ठान्नु हुन्छ?
"भारतले कस्तो गर्नुपर्छ म भन्दिन। हाम्रा वरिष्ठ नेताहरू अनुभवी र परिपक्व छन्। म भन्दा धेरै उनीहरूलाई थाहा छ। हामी नेपालसँग ज्यादै नजिक छौँ र हाम्रो धेरै पुरानो सम्बन्ध हो त्यही भएर म अझ नजिक महसुस गर्छु," कोश्यारीको जबाफ छ।
उनी नेपाल भारत सम्बन्धबारे आफू सदैव आशावादी रहेको बताउँछन्। "दुई देशबीच विकाशका लागि प्रचुर सम्भावना छ। मलाई लाग्छ, भारतले अहिले नै धेरै योगदान गरिरहेको छ। म अपेक्षा गर्छु की नेपालको समृद्धिका लागि भारतले अझ सघाउनेछ।"
भारतबाट के सिक्ने, के लिने?
भूराजनीति र कूटनीतिक मामिलाका जानकार भास्कर कोइराला कहिलेकाहीँ यस्ता भ्रमणबाट दुई देशका सम्बन्धमा ठोस उपलब्धिहरू आउन वर्षौँ लाग्ने बताउँछन्।
उनले भने, "नेपालले भारतबाट धेरै सिक्न पनि सक्छ र सहयोगहरू पनि लिन सक्छ। पैसा मात्र होइन विज्ञता र प्राविधिक ज्ञानको पनि कुरा गरेको हुँ। सुरुङ मार्गहरू निर्माणदेखि विकास र पूर्वाधारका धेरै क्षेत्र छन्।"
जेन जी, अल्फा र पाका पुस्ता सबैले विकास चाहने उल्लेख गरेका उनले पूर्वाधारसहितका क्षेत्रमा दुई देशले मिलेर काम गर्नुपर्ने बताए।
प्रधानमन्त्री वालेन्द्र शाहको यो भ्रमणमा दुई देशबीच राजनीतिक र रणनीतिक पक्षहरूमा भने अन्तरक्रिया हुने सम्भावना आफूले कम देखेको उनी सुनाउँछन्।
"यस्ता खालका राजकीय भ्रमणमा तपाईँले पूर्ण मेन्यू पस्कनुपर्छ। अन्तरक्रियाहरू गरिनुपर्छ। भ्रमणअघि जुन तयारीहरू भयो त्यसमा पनि राजनीतिक र रणनीतिक सवालहरूमा छलफल गर्न सीमित सम्भावना छ भन्ने शायद ठहर गरिएको हुनसक्छ।"
गहिरो राजनीतिक विमर्शको अभावमा 'व्यावसायिक' र 'नाफा केन्द्रित' अन्तरक्रियाहरू हुने बताएका कोइरालाले नयाँ सरकार भारतले विगतमा काम गरिरहेको राजनीतिक शक्ति नरहेको सन्दर्भ पनि उल्लेख गरे।
अहिले पनि परम्परागत राजनीतिक शक्तिहरू पनि आफूसँग नचिढिउन् भन्ने सोचेर भारतले आफ्ना कतिपय नीतिहरू लिइरहेको हुनसक्ने उनी ठान्छन्। बीबीसी नेपालीबाट ।


