Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपनिर्वाचनमा फराजको पुनरागमन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस/एएनआई)

लन्डन, २९ साउन : बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा स्पष्ट मतान्तरसहित विजयी हुनुभएको छ । प्रमुख राजनीतिक दलहरूले उम्मेदवार नउठाएको निर्वाचनमा हास्य कलाकार तथा स्वतन्त्र उम्मेदवार ‘काउन्ट बिनफेस’ प्रमुख चुनौतीका रूपमा देखिए पनि फराजले संसद्मा आफ्नो पुनरागमन सुनिश्चित गर्नुभएको हो ।

फराजले २२ हजार २३९ मत प्राप्त गर्नुभएको छ । यो सन् २०२४ को आमनिर्वाचनमा उहाँले प्राप्त गरेको मतभन्दा करिब एक हजार बढी हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जोनाथन डेभिड हार्वी अर्थात् ‘काउन्ट बिनफेस’ ले नौ हजार ४५५ मत प्राप्त गर्नुभयो ।

‘काउन्ट बिनफेस’ले आफूलाई ‘अन्तरिक्ष योद्धा’ का रूपमा प्रस्तुत गर्दै फोहोर राख्ने भाँडोको पोसाक लगाएर चुनावी अभियान चलाउनुभएको थियो । उहाँसहित ३२ जना स्वतन्त्र तथा नयाँ धारका उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि क्ल्याक्टन उपनिर्वाचनले बेलायतमा विशेष चर्चा पाएको थियो ।

नतिजा सार्वजनिक भएपछि बिनफेसले सामाजिक सञ्जालमा आफू उपनिर्वाचनमा पहिलो भएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको थियो । फराज भने नतिजा घोषणा गर्ने कार्यक्रममा उपस्थित हुनुभएन । प्रहरीले उहाँलाई कार्यक्रम अवरुद्ध गर्ने प्रयाससम्बन्धी अभियानबारे चेतावनी दिएको थियो ।

फराजले आफ्नो र रिफर्म युके पार्टीको आर्थिक गतिविधिमाथि बढ्दो छानबिनबीच करिब छ साताअघि सांसद पदबाट राजीनामा दिएपछि उपनिर्वाचन भएको हो । उहाँले कुनै गलत काम नगरेको दाबी गर्दै मतदाताबाट पुनः जनादेश लिन राजीनामा दिएको बताउनुभएको थियो ।

उपनिर्वाचनलाई केही आलोचक तथा टिप्पणीकारले प्रमुख दलको सहभागिता नहुँदा ‘तमासा’ का रूपमा चित्रण गरेका थिए । प्रमुख दलहरूले उम्मेदवार नउठाएपछि फराजले स्वतन्त्र, सीमान्त तथा नयाँ धारका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरेको थियो ।

यद्यपि फराजको स्पष्ट विजयले उहाँलाई संसद्मा नयाँ जनादेश दिलाएको भए पनि रिफर्म युके पार्टीका चुनौती भने समाप्त भएका छैनन् । राजीनामा दिनुअघि फराजविरुद्ध संसद्को मापदण्ड समितिले अनुसन्धान गरिरहेको थियो । उहाँ पुनः निर्वाचित भएपछि उक्त अनुसन्धान पुनः अघि बढ्ने अपेक्षा गरिएको छ ।

अनुसन्धानले संसदीय नियम उल्लङ्घन भएको निष्कर्ष निकालेमा कानूनी प्रक्रियाअनुसार अर्को उपनिर्वाचनको अवस्था आउन सक्नेछ । उपनिर्वाचन गराउने निर्णयको लागतलाई लिएर पनि आलोचना भएको छ । यसको अनुमानित लागत करिब दुई लाख ५० हजार पाउन्ड अर्थात् तीन लाख ३८ हजार अमेरिकी डलर रहेको छ ।

फराजले निर्वाचनको खर्च रिफर्म युके पार्टीले व्यहोर्ने तर्क गर्नुभएको थियो । तर निर्वाचन सञ्चालनको कानूनी खर्चको जिम्मेवारी भने सार्वजनिक निकायमै रहने बताइएको छ ।

फराजले उपनिर्वाचनलाई आफू र बेलायती राजनीतिक प्रतिष्ठानबीचको प्रतिस्पर्धाका रूपमा प्रस्तुत गर्नुभएको थियो । तर दक्षिणपन्थी राजनीतिक धारमै अन्य समूहबाट प्रतिस्पर्धा बढिरहेका बेला निर्वाचनको परिणामले रिफर्म युके पार्टीका लागि आर्थिक व्यवस्थापन, राजनीतिक प्रतिस्पर्धा र उसको जनसमर्थनको स्थायित्वबारे उठेका प्रश्नलाई भने कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan