लाइम रोगविरुद्ध खोप अध्ययन स्वीकृत
पेरिस, २९ साउन : युरोपेली सङ्घ (इयु) का औषधि नियामकहरूले मानिस वा जनावरको शरीरमा टाँसिएर रगत चुस्ने परजीवी किराले सार्ने लाइम रोगविरुद्ध विकास भइरहेको प्रयोगात्मक खोपको अध्ययन अघि बढाउन स्वीकृति दिएका छन् । खोप विकास गरिरहेका अमेरिकी कम्पनी फाइजर र फ्रान्सेली–स्विस कम्पनी वाल्नेभाले शुक्रबार यसको जानकारी दिएका हुन् ।
दुवै कम्पनीका अनुसार पाँच वर्ष वा सोभन्दा माथिका मानिसका लागि विकास गरिएको उक्त खोपले परीक्षणका क्रममा करिब ७० प्रतिशत प्रभावकारिता देखाएको छ । लाइम रोगविरुद्ध हालसम्म कुनै स्वीकृत खोप उपलब्ध छैन ।
यस वर्षको सुरुआतमा परीक्षणका केही नतिजा अपेक्षाअनुसार उत्साहजनक नआए पनि युरोपेली औषधि नियामक निकायले खोपको स्वीकृतिका लागि कम्पनीहरूले दिएको आवेदन स्वीकार गरेको दुवै कम्पनीले बताएका छन् । प्रयोगात्मक खोपलाई हाल पीएफ–०७३०७४०५ नाम दिइएको छ ।
लाइम रोग सङ्क्रमित परजीवी किराले टोकेपछि मानिसमा सर्ने गर्छ । यसबाट छालामा रातो दाग देखिने, ज्वरो आउने तथा रुघाखोकीजस्ता लक्षण देखिन सक्छन् । केही अवस्थामा यसले स्नायु प्रणालीमा समेत असर पुर्याउन सक्छ । रोग विरलै घातक भए पनि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन् ।
फाइजरकी प्रमुख खोप अधिकारी एनालिजा एन्डरसनले खोपले लाइम रोगबाट जोगिन महत्त्वपूर्ण नयाँ उपाय उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सन् २०२२ मा गरिएको एक अध्ययनले विश्वको कुल जनसङ्ख्याको १४ प्रतिशतभन्दा बढीमा लाइम रोगसँग सम्बन्धित सङ्क्रमण देखिएको अनुमान गरेको थियो । जलवायु परिवर्तनका कारण लामो समयसम्म गर्मी र सुक्खा बढ्दै जाँदा रोग सार्ने परजीवी किराको विस्तार र सङ्क्रमणको जोखिमसमेत बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
युरोपमा लाइम रोगको जोखिम रहेका क्षेत्रमा २० करोडभन्दा बढी मानिस बसोबास गर्ने भएकाले खोप विकासलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको वाल्नेभाका प्रमुख कार्यकारी थोमस लिङ्गेलब्याकले बताउनुभयो ।
खोपको अध्ययनलाई स्वीकृति दिइएको खबरपछि शुक्रबार पेरिसको सेयर बजारमा वाल्नेभाको सेयर मूल्य प्रारम्भिक कारोबारमा करिब १६ प्रतिशतले बढेको थियो ।
