प्रदेश प्रमुखसमक्ष आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
विराटनगर, २९ साउन : कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागार्इँले गत आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले वार्षिक प्रतिवेदन ग्रहण गर्दै संविधान र प्रचलित कानुनबमोजिम आयोगले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको बताउनुभयो । उहाँले आयोगप्रति आमनागरिकको रहिआएको भरोसा, विश्वास र आस्थालाई कायम राख्न जिम्मेवारीपूर्वक आफ्नो दायित्व र कर्तव्य गर्न सुझाव दिनुभयो ।
प्रदेश प्रमुख खापुङले सार्वजनिक प्रशासन एवं सुशासनका निम्ति आयोगले खेलेको भूमिकामा नै नागरिकको हित र अधिकार स्थापित हुने भएकाले जनताको विश्वास टुट्न नदिन संविधान, ऐन र कानुनअनुसार काम गर्न सुझाव दिनुभयो ।
आयोगका अध्यक्ष गुरागाईँले सार्वजनिक प्रशासनका माध्यमबाट आमनागरिकलाई सुशासन प्रदान गर्न योग्य राष्ट्रसेवक कर्मचारी छनोटमा विशेष ध्यान पुर्याइएको बताउनुभयो ।
