इरानद्वारा खाडी देशलाई चेतावनी
तेहरान, ३ भदौ : इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकी सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ । इरान र अमेरिकाबीच जारी युद्धका बीच इरानी सेनाको यस्तो चेतावनीले खाडी क्षेत्रमा सैन्य तनाव थप बढ्ने सङ्केत गरेको छ ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकी सैन्य कारबाहीमा सहभागितासरह हुने बताउनुभएको मेहर समाचार एजेन्सीले जनाएको छ ।
उहाँले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो सङ्ख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमतिबिना तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको बताउनुभयो ।
त्यसैले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकहरूलाई अवस्थाबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको उहाँले चेतावनी दिनुभयो ।
अब्दोलाहीले अमेरिकी सेनालाई सहयोग गर्नु वा अमेरिकी सैन्य गतिविधिका लागि सुविधा उपलब्ध गराउनु इरानविरुद्धको कारबाहीमा प्रत्यक्ष संलग्नताका रूपमा लिइने स्पष्ट पार्नुभयो । उहाँको चेतावनी विशेषगरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा तिनको प्रयोगसँग सम्बन्धित देखिएको छ ।
इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि युद्ध जारी छ । इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि युद्ध सुरु भएको र त्यसको जवाफमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको बताइएको छ ।
यसैबीच, अमेरिकी नौसेनाको ‘युएसएस जर्ज वासिङ्टन’ विमानवाहक युद्धपोत मध्यपूर्वमा पुनः तैनाथ गरिँदैछ । चालक दलको जीवनयापनसम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त विमानवाहकलाई ‘युएसएस अब्राहम लिङ्कन’ को स्थान लिन मध्यपूर्व पठाउन लागिएको हो ।
इरानी चेतावनी अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला आएको हो । खाडी मुलुकहरूले आफूहरूलाई इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नगराउने बताउँदै आए पनि अमेरिकी सेनाको गतिविधि र सैन्य आधारको प्रयोगलाई लिएर तेहरानले ती देशहरूलाई थप दबाब दिन थालेको छ ।
