Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युक्रेनमा युद्धकालीन चुनावको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस-एपी)
newsabhiyan

किएभ, ३ भदौ : रुससँग युद्ध जारी रहेका बेला युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको भन्दै अपदस्थ रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकालमै चुनाव गराउन आह्वान गर्नुभएको छ ।

हालसम्म राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका निकट सहयोगीमध्ये एक मानिनुभएका फेडोरोभको यो सार्वजनिक आह्वान युद्ध सुरु भएपछि जेलेन्स्की सरकारसामु देखिएको महत्त्वपूर्ण आन्तरिक चुनौतीका रूपमा आएको छ ।

फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाउनुभएको थियो । उहाँले युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमार्फत लामो युद्धका बीच पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानूनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताउनुभएको छ ।

युक्रेनी कानूनअनुसार देशमा मार्सल ल लागू रहेसम्म चुनाव गराउन रोक लगाइएको छ । रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेको दिन अर्थात् फेब्रुअरी २४, २०२२ देखि युक्रेनमा मार्सल ल लागू छ ।

फेडोरोभले वर्तमान शासन प्रणाली आत्मरक्षा र परिवर्तनको प्रतिरोधमा केन्द्रित भएको आरोप लगाउँदै देशले शासन सञ्चालनकै विषयमा प्रणालीगत सङ्कट सामना गरिरहेको बताउनुभयो ।

उहाँले कुनै अधिकारीको नाम नलिई सरकारी निकायमा व्याप्त भ्रष्टाचारको समेत आलोचना गर्नुभयो । युद्धका बेला हुने भ्रष्टाचारले युक्रेनको युद्ध लड्ने क्षमतालाई कमजोर बनाउने उहाँको भनाइ छ ।

“युद्धका बेला भ्रष्टाचार आर्थिक विषय मात्र होइन, यो हाम्रो बाँच्ने र जित्ने क्षमतासँग जोडिएको विषय हो”, फेडोरोभले भन्नुभयो । रक्षाका लागि छुट्याइएको प्रत्येक रिभ्निया देशको सुरक्षामै खर्च हुनुपर्ने र निजी स्वार्थमा प्रयोग हुन नहुने उहाँले बताउनुभयो ।

फेडोरोभले आफूलाई पदबाट हटाइनुको एउटा कारण रक्षा मन्त्रालयको खरिद प्रणालीमा आफूले नेतृत्व गरेको भूमिका पनि भएको बताउनुभयो । उक्त प्रणालीमार्फत सैन्य उपकरण खरिदमा खर्च हुने अर्बौँ डलरको निगरानी हुँदै आएको थियो ।

फेडोरोभको सम्बोधन युक्रेनी संसद्ले नयाँ रक्षामन्त्रीका रूपमा येभहेनी ख्मारालाई मनोनयन गरेको केही घन्टापछि आएको हो ।

संसद्का अध्यक्ष रुस्लान स्टेफानचुकले मङ्गलबार सामाजिक सञ्जालमार्फत नयाँ रक्षामन्त्रीको मनोनयनबारे जानकारी दिनुभएको थियो । फेडोरोभको सम्बोधनप्रति जेलेन्स्कीको कार्यालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

फेडोरोभलाई अचानक पदबाट हटाइएपछि गत महिनादेखि राजधानी किएभमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएका छन् ।

प्रदर्शनको सुरुआती भीड केही घटे पनि सप्ताहन्तमा अझै हजारौँ मानिस सडकमा उत्रिने गरेका छन् । प्रदर्शनकारीहरूले फेडोरोभलाई पुनः पदमा फर्काउन माग गर्दै जेलेन्स्कीविरुद्ध नाराबाजी तथा हस्तनिर्मित प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् ।

युद्ध जारी रहेका बेला चुनाव गराउने विषय भने युक्रेनका लागि सुरक्षा, कानूनी र राजनीतिक रूपमा जटिल मानिन्छ । फेडोरोभको पछिल्लो आह्वानले युद्ध सञ्चालनसँगै लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीबारे युक्रेनभित्र बढिरहेको बहसलाई थप सतहमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan