प्रतिनिधिसभा : बाँदर–बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
काठमाडौँ, ३ भदौः प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाँदर र बँदेलबाट किसानले भोग्नुपरेका समस्यादेखि शान्ति सुरक्षासम्मका विभिन्न विषय उठाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले मुलुकका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोबाट भएका क्षति र प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद केपी खनालले कैलालीमा सामुदायिक वनमा ४२ वर्षीय पदम विश्वकर्माको गोली लागि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो ।
सांसद अरविन्द साहले बाराको जितपुरमा सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षकी अबोध बालिकालाई तेस्रो दिनमा मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । उहाँले सिसीटिभी क्यामेरा जडान गर्न र बिजुलीको पोलमा बत्तीको व्यवस्था गर्नसमेत सरकारसँग माग गर्नुभयो ।
सांसद यज्ञबहादुर बोगटी अछाम मङ्गलसेन नगरपालिका–३ मा आज बिहान जङ्गली बँदेल गाउँ पुगेर पाँच जनालाई घाइत बनाएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै निःशुल्क उपचार र क्षतिपूर्तिको माग गर्नुभयो ।
साथै उहाँले बाँदर र बँदेलको ज्यादतीले किसान मारमा परेको भनेर बारम्बार उठाउँदा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रहबर अन्सारीले बारा जितपुरको तीन वर्षे बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले खोजतलासमा ढिलाइ गरेको टिप्पणी गर्दै त्यस्ता घटनामा तत्काल प्रहरीले खोजी गर्नुपर्नेमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयोे ।
सांसद पार्वती विकले गत साउन ३० गते आएको अविरल वर्षाका कारण जाजरकोटमा बाढी आएर ठूलो क्षति भएको र ८९३ जना मानिसलाई होल्डिङ सेन्टरमा राखिएको जानकारी गराउँदै बालबालिका तथा घाइतेहरू धेरै, सुत्केरी, गर्भवतीलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गोपाल शर्माले रुकुम पश्चिमा अवरिल वर्षका कारण विद्यालय, बस्तीमा क्षति पुगेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकलाई सुरक्षित बासको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद प्रशान्त उप्रेतीले हेटौँडामा विद्यालयबाट घर फर्कनले बेलामा चार बालिका मङ्गलबार खोलाले बगाएको दुईको मृत्यु भएको, एक घाइते र एकको अवस्था अज्ञात रहेकोप्रति सरकारको ध्यानार्षण गराउँदै तत्काल पुल निर्माण गर्न माग गर्नुभयो ।
सांसद वासुमाया तामाङले पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै मानिसको चरित्रहत्या गर्ने काम भइरहेको भन्दै तत्काल यस्ता कार्य रोक्न सरकारसँग आग्रह गर्नुभयो ।
