कोशी प्रदेशसभामा विधेयक पेस
विराटनगर, ३ भदौः कोशी प्रदेशसभाको आज बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गर्नुभएपछि विधेयक सदनमा पेस भएको हो ।
विशेष समय
कोशी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।
नेता थापाले सरकार पटक÷पटकको परिवर्तनले गर्दा जनतामा नैराश्यता आएको टिप्पणी गर्दै प्रतिपक्ष भनेको विरोध गर्ने मात्र होइन असल काममा सहयोग गर्ने पनि हो भन्नुभयो ।
उहाँले पछिल्लो समयमा बनेको गठबन्धनले गर्दा नेपाली कांग्रेस कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रमुख प्रतिपक्षको भूमिकामा रही सरकारलाई सहयोग गर्ने वचन दिँदै सरकारले जनताको हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने धारणा राख्नुभयो ।
नेता थापाले अहिले जनता ग्यास अभाव र महँगीको मारमा परेकाले तत्काल सरकारले प्रदेश जनतालाई राहत हुने किसिमको काम गर्न सुझाव दिँदै आर्थिक वर्ष २०८३÷८४ को सार्वजनिक भएको बजेटलाई सन्तुलित बनाउनुपर्ने विचार राख्नुभयो । उहाँले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्सुहाङले जनताको अविभावक सरकारले जनताकै हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका अन्यौलतालाई छिनोफानो गर्नुपर्ने बताउनुभयो ।
शून्य समय
शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सदानन्द मण्डल, गोपालबहादुर विश्वकर्मा, शोभा चेम्जोङ, कमला दर्नाल, गीतारानी महतो र राजेन्द्र कार्कीले प्रदेशको समसामयिक विषयमा बोल्नुभएको थियो ।
सभामा सभामुख विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरु पढेर सुनाउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ः०० बजे बस्नेछ ।
