Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्युतीय ऊर्जाको प्रयोग बढाउन पोखरा महानगरले सुरु गर्‍यो प्रोत्साहन अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

कास्की, १ भदौः पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ प्रोत्साहन अभियान सुरु गरेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि महानगरले विद्युतीय चुल्होलाई विकल्पका रूपमा अघि सारेको हो । 

    पोखरा–२२ पुम्दीभुम्दीका २०० परिवारलाई आज विद्युतीय चुल्हो वितरण गर्दै महानगरले विद्युतीय ऊर्जाको प्रयोग बढाउने अभियान सुरुआत गरेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो । स्थानीयलाई रु चार हजार २०० मूल्य पर्ने चुल्हो प्रदान गरिएको हो । 

    वडा नं २२ का कालाबाङ, भुम्दीलगायत पाँच वटा टोलका परिवारलाई पहिलो चरणमा चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष हिमलाल बरालले बताउनुभयो । वडाभित्र करिब दुई हजारभन्दा बढी चुल्हो वितरण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

    कार्यक्रमको शुभारम्भ गर्नुहुँदै महानगर प्रमुख धनराज आचार्यले ग्यासको अभावका कारण खाना पकाउन समस्या हुन थालेको अवस्थामा विद्युतीय चुल्हो विकल्पका रूपमा उपयोगी हुने बताउनुभयो ।

    खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै लैजानसके ग्यासमा हुने परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन सकिने प्रमुख आचार्यले स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउनसके एलपिजी ग्यासमाथिको परनिर्भरता घटाउन सकिन्छ । यसबाट स्वदेशमै उत्पादन भएको विद्युत्को खपत वृद्धि हुन्छ भने उपभोक्तालाई सस्तो पर्छ ।”

    महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहज, भरपर्दो र वातावरणमैत्री ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरण थालिएको उहाँले बताउनुभयो । 

    ग्यासको चरम अभाव हुँदा कतिपय परिवारको ‘चुल्हो निभ्ने’ अवस्था आएपछि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन पहल गरिएको उहाँले बताउनुभयो ।  

    ग्यासको अभावका बेला सुरु भएको विद्युतीय चुल्हो वितरण अभियानले तत्कालीन समस्या समाधानमा सहयोग पुगेको स्थानीय दुर्गा बरालले बताउनुभयो । “सिलिन्डर ग्यासका लागि कति दिन लाइनमा बस्दा पाउन सकिएको थिएन । अहिले गाउँमै आएर चुल्हो वितरण गरेर महानगरले हामीलाई धेरै सहयोग गरेको छ”, बरालले भन्नुभयो ।

    पोखराको खाना पकाउने ऊर्जा खपतमा विद्युत्को हिस्सा भने हाल निकै न्यून रहेको महानगरले जनाएको छ । महानगरको नगर ऊर्जा योजनाअनुसार खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपिजीको हिस्सा ८४ दशमलव २५ प्रतिशत छ । काठ दाउराको १० दशमलव २०, बायोग्यासको पाँच दशमवल २५ र विद्युत्को हिस्सा शून्य दशमलव २३ प्रतिशत मात्रै रहेको छ ।  

    पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । 

    जर्मन अन्तरराष्ट्रिय सहयोग नियोग (जीआइजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार गरेको नगर ऊर्जा योजनाले विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने दीर्घकालीन लक्ष्य अघि सारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan