Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रम्प–किम भेटको सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस-एएफपी)

वासिङ्टन, ४ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने बताउनुभएको छ ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्त्वपूर्ण रहेको बताउनुभएको हो । सम्भावित भेटको समय र स्थान भने खुलाइएको छैन ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेन जाने क्रममा किमसँग भेट गर्ने सम्भावना खोजिरहनुभएको छ । ट्रम्पले पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो । दुवै नेताबीचको अन्तिम भेट सन् २०१९ मा भएको थियो ।

ट्रम्पले प्योङयाङसँग करिब ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको बताउनुभएको छ । तर दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–ब्याकले प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको सियोलको अनुमान रहेको बताउनुभएको छ ।

अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि उसलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन ।

ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न रोक्नु आवश्यक रहेको बताउँदै उत्तर कोरियासँग भने आफूले राम्रो सम्बन्ध कायम गरेको उल्लेख गर्नुभएको छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रयासबाट पछि नहटेको बताउनुभएको छ । राष्ट्रपति ली जे म्युङले पनि उत्तर कोरियासँग शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासमा सहयोग गर्ने बताउनुभएको छ ।

यसअघि ट्रम्पले किमसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै आउनुभएको थियो । पहिलो कार्यकालमा किमलाई ‘रकेट म्यान’ भन्दै उत्तर कोरियामाथि ‘फायर एन्ड फ्युरी’ को चेतावनी दिनुभएका उहाँले पछि दुवैबीच सम्बन्ध सुधारिएको बताउनुभएको थियो । उच्चस्तरीय भेटले विश्वव्यापी ध्यान खिचे पनि उत्तर कोरियाको आणविक कार्यक्रमबारे ठोस प्रगति भने हुन सकेको थिएन ।

यसैबीच, किमकी बहिनी किम यो जोङले आफ्ना भाइ र ट्रम्पबीच हाल कुनै कुराकानी भइरहेको जानकारी आफूलाई नभएको बताउनुभएको छ । उहाँले किमसँग ट्रम्पप्रति अझै राम्रो सम्झना र भावना रहेको तथा दुई नेताबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ ।

किम यो जोङको भनाइ दक्षिण कोरिया र अमेरिकाले वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि समाप्त गर्ने घोषणा गरेपछि आएको हो । पेन्टागनले अभ्यास अवधि घटाइए पनि सैन्य प्रशिक्षणका उद्देश्यमा कुनै कमी नआउने बताएको छ ।

उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई सम्भावित आक्रमणको तयारी भन्दै लामो समयदेखि विरोध गर्दै आएको छ।

दक्षिण कोरियामा अमेरिकाले करिब २८ हजार ५०० सैनिक तैनाथ गर्दै आएको अवस्थामा ट्रम्पको किमसँग पुनः भेट गर्ने तयारी र सैन्य अभ्याससम्बन्धी पछिल्ला कदमलाई अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ कूटनीतिक पहलको सङ्केतका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan