Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानद्वारा ट्रम्पको आर्थिक नीतिको आलोचना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस-एएफपी)

तेहरान, ४ भदौ : इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गर्नुभएको विषयलाई असफल नीतिको निरन्तरता भन्दै आलोचना गर्नुभएको छ ।

उहाँले अमेरिकी दबाबले इरानलाई झुकाउन नसक्ने र यसबाट वासिङ्टनले थप पराजय भोग्ने दाबी गर्नुभएको छ ।

अराघचीले सामाजिक सञ्जाल एक्समा अमेरिकी कदमलाई अभूतपूर्व ऋण र बढ्दो ब्याज लागतको सामना गरिरहेको अमेरिकाको आफ्नै आर्थिक सङ्कटबाट ध्यान मोड्ने प्रयासका रूपमा व्याख्या गर्नुभयो ।

उहाँले अमेरिकी आर्थिक प्रतिबन्धले विश्व अर्थतन्त्र र राष्ट्रहरूको सार्वभौमसत्तासमेत जोखिममा पार्ने बताउनुभयो ।

यसअघि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही घोषणा गर्न लागेको बताउनुभएको थियो ।

उहाँले इरानलाई आर्थिक वा अन्य कुनै प्रकारको सहयोग उपलब्ध गराउने वित्तीय संस्था, व्यवसाय, विमानस्थल तथा सरकारी निकायले समेत गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो । अप्रिल ८ को युद्धविरामपछि व्यापक बमबारी रोकिए पनि महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलघाँटी आसपास तनाव जारी रहेको जनाइएको छ ।

इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुका साथै तेल प्रतिबन्ध फुकुवा र विदेशमा रोक्का गरिएका सम्पत्ति खुला नगरेसम्म जलमार्ग बन्द राख्ने अडान लिँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि इरानमाथि ‘अधिकतम दबाब’ को आर्थिक प्रतिबन्ध नीति अपनाउँदै आउनुभएको छ ।

उहाँले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेपछि उक्त नीति पुनः लागू गर्नुभएको थियो । इरानले भने प्रतिबन्ध र धम्कीबाट आफ्नो नीति परिवर्तन नहुने बताउँदै अमेरिकी दबाब अभियानलाई असफल नीति भन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan