मार्वलस र रेडियन्ट सेमिफाइनलमा
मार्वलस र रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको क्वाटरफाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ६६–४० तथा रेडियन्टले इनोभेटिभलाई ४७–२४ ले पराजित गरे । मार्वलसका सिनेप शाहीले ३२ तथा रेडियन्टका सुगम मगरले २० अंक जोडे ।
सोही स्पर्धामा सनसाइनले केभीएसलाई ४९–४४ तथा पुष्पसदनले गण्डकीलाई ५५–४५ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सनसाइनका उमंग श्रेष्ठले १९ तथा पुष्पसदनका सम्राट लामाले १६ स्कोर गरे । सेमिफाइनलमा रेडियन्टको भेट पुष्पसदनसंग हुनेछ भने मार्वलसले सनसाइनको सामना गर्नेछ ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले नेपालयलाई ३९–२४, ज्ञान निकेतनले नवीन ज्योतिलाई ३१–२२ र इडेन ब्रिज एकेडेमी (इबीए) ले महामञ्जुश्रीलाई ५१–४६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एन्जल्स हार्टका सौरव श्रेष्ठले ११, ज्ञान निकेतनका सुमन तामाङले १६ र इबीएका उज्ज्वल राउतले ३० अंक जोडे ।
आयोजक ग्रिनफिल्ड सेमिफाइनलमा पुगिसकेको छ । जुनियर ब्वाइजको सेमिफाइनल ग्रिनफिल्ड र एन्जल्स हार्ट तथा इबीएले ज्ञान निकेतन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
सिनियर गल्र्समा भ्याली पब्लिकले केभीएसलाई २७–१४, इबीएले ज्ञानोदयलाई ३४–१० र स्वर्णिमले नवीन ज्योतिलाई २९–२४ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । भ्याली पब्लिककी दृष्य गुरुङले १०, इबीएकी अनामिका पटेलले १२ र स्वर्णिमकी हिसी ल्हामु लामाले १२ स्कोर गरे ।
रेडियन्ट पब्लिकले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सेमिफाइनल भ्याली पब्लिक र इबीए तथा स्वर्णिम र रेडियन्टबीच हुनेछ ।
