Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आलमगिर बङ्गलादेशको राष्ट्रपति निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस/एएफपी)

बङ्गलादेशले बिहीबार सत्तारूढ दलका अनुभवी नेता मिर्जा फखरुल इस्लाम आलमगिरलाई देशको राष्ट्रपति चयन गरेको छ । 

बङ्गलादेशको संसद्मा राष्ट्रपतिका लागि भएको निर्वाचनमा ७८ वर्षीय आलमगिर सत्ताधारी दलका तर्फबाट २५५ मत पाएर विजयी हुनुभएको हो । जमात–ए–इस्लामी नेतृत्वमा रहेको विपक्षी ११ दलीय गठबन्धनले मनोनयन गरेका एकमात्र प्रतिस्पर्धी ओली अहमदले ८८ मत मात्र पाउनुभएको छ । 

प्रमुख निर्वाचन आयुक्त ए एम एम नासिर उद्दिनले निर्वाचन परिणाम घोषणा गर्दै भन्नुभयो, “आलमगिर सत्ताधारी दलका तर्फबाट २५५ मतसहित निर्वाचित हुनुभएको छ । विपक्षी गठबन्धनको समर्थन प्राप्त अहमदले ८८ मत गर्नुभएको छ ।”

यससँगै कुल १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा आलमगिर २३ औँ राष्ट्रपति बन्नुभएको छ । उहाँ यसअघि, बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का महासचिव र स्थानीय प्रशासन मन्त्री हुनुहुन्थ्यो । 

पूर्ववर्ती राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जुलाईमा दिएको राजीनामापछि राष्ट्रपतिको चयनका लागि बिहीबार निर्वाचन भएको हो । पूर्वप्रधानमन्त्री शेख हसिनाका नजिकका सहयोगी मानिने ७६ वर्षीय शहाबुद्दिनलाई हसिनाको विदेश पलायनपछि भएको निर्वाचनबाट बनेको सरकारबाट राजीनामा दिन दबाब परिरहेको थियो।

‘चुप्पु’ भनेर चिनिने उहाँलाई सन् २०२३ मा चुनिएको थियो तर उहाँले कार्यकाल सकिने समय अगावै स्वास्थ्य समस्या देखाएर राजीनामा दिनुभएपछि यो प्रक्रिया अघि बढेको थियो । उहाँको कार्यकाल सन् २०२८ मा सकिनुपर्ने थियो ।

मतदानअघि आलमगिरले बङ्गलादेशको समाचार संस्था (बिएसएस) सँग दिएको प्रतिक्रियामा भन्नुभएको थियो, “म एउटा खुसी, समृद्ध र कल्याणमुखी राज्यको सपना देख्छु, जहाँ सीमान्तकृत समुदाय, मेहनती मानिस र दैनिक ज्यालादारी गर्ने मजदुरहरूले दिनमा दुई छाक खानाका लागि सहज व्यवस्था गर्न सकियोस् ।”

यो निर्वाचन ३५ वर्षपछि बङ्गलादेशको राष्ट्रपति पदका लागि एकभन्दा बढी उम्मेदवार भिडेको पहिलो चुनाव हो। यसअघि संसद्बाट राष्ट्रपति चुनिने अन्तिम निर्वाचन सन् १९९१ मा भएको थियो।

मत परिणाम आएपछि ८७ वर्षीय अहमदले भन्नुभयो, “हामी तपाईंबाट ठूलो आशा राख्छौँ। व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिएर देशको सेवा गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।”
यसैबीच, आलमगिर राष्ट्रपति निर्वाचित भएसँगै चीनले उहाँलाई बधाई दिएको छ। ढाकास्थित चिनियाँ उच्च आयोगले जारी गरेको विज्ञप्तिमा ‘नयाँ युगमा साझा भविष्य’ को आशा व्यक्त गरिएको छ।

–अनुभवी राजनीतिज्ञ–

प्रधानमन्त्री तारिक रहमानको बीएनपीले फेब्रुअरीमा ठूलो बहुमतका साथ चुनाव जितेको थियो । यो सन् २०२४ को जनविद्रोहपछि शेख हसिना सरकार ढलेपछिको पहिलो चुनाव थियो।
पूर्व प्रधानमन्त्री हसिना अहिले भारतमा रहँदै आउनुभएको छ र उहाँले ढाकामा चलिरहेको मुद्दामा उपस्थित हुन अस्वीकार गर्नुभएको छ । गत नोभेम्बरमा उहाँलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको थियो।

अधिकारवादी समूहहरूले हसिना प्रशासनमाथि प्रतिद्वन्द्वीहरूको हत्या, विपक्षी दलहरूलाई दमन, अदालतलाई पक्षपाती बनाउने र एकपक्षीय चुनाव गराउनेजस्ता आरोप लगाउँदै आएका थिए।

आलमगिरको जन्म २६ जनवरी १९४८ मा भएको हो। उहाँले ढाका विश्वविद्यालयमा अध्ययनरत रहँदा राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँलाई एक कुशल अर्थविद्का रूपमा समेत हेरिन्छ । 

सन् १९६९ मा पाकिस्तानी सैन्य शासनविरुद्धको विद्रोहमा उहाँ प्रमुख विद्यार्थी नेता हुनुहुन्थ्यो । यही आन्दोलन बङ्गलादेशको सन् १९७१ को स्वतन्त्रताको आधार बनेको थियो ।

अर्थशास्त्रको पढाइ र अध्यापनपछि उहाँ सरकारी सेवामा प्रवेश गर्नुभएको थियो र पछि राजनीतिमा आउनुभएको थियो । कृषि, हवाई यातायात र पर्यटन मन्त्रीसहित विभिन्न पद सम्हालेका उहाँले हसिनाको कडा शासनकालमा विपक्षी नेताका रूपमा चर्चा कमाउनुभएको थियो । त्यसबेला बिएनपीकी प्रमुख खालिदा जिया जेलमा हुनुहुन्थ्यो भने उहाँका छोरा तारिक रहमान निर्वासनमा हुनुहुन्थ्यो । 

आलमगिर आफैँ हसिना सरकारका पालामा पटकपटक पक्राउ पर्नुभएको थियो । उहाँमाथि राजनीतिक रूपमा पक्षपातपूर्ण तवरले दर्जनौँ मुद्दा लगाइएको थियो । 

बिएसएसका अनुसार कठिन समयमा पनि बिएनपीलाई सङ्गठित राख्ने र पार्टीको राजनीतिक उपस्थिति जोगाउने कामका लागि उहाँको बङ्गलादेशमा प्रशंसा गरिन्छ।

आलमगिरको विवाह सेवानिवृत्त वित्तीय अधिकारी रहत आरा बेगमसँग भएको हो । उनीहरूका दुई छोरी हुनुहुन्छ । 

राष्ट्रपतिको रूपमा आलमगिर राज्य प्रमुख र सशस्त्र बलका सर्वोच्च कमाण्डर बन्नुहुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan