सत्ता बिना बाँच्न नसक्ने हाम्रा नेताहरु धर्मसंकटमा : ओली, देउवा, प्रचण्ड आ-आफ्नै पार्टी भित्र नांगिदै
काठमाडौं, ५ भदौ । मुलुकका प्रमुख राजनीतिक दलहरू आन्तरिक विवाद, नेतृत्व संकट र अस्तित्वको संघर्षमा फसिरहेका बेला पुराना दलका नेताहरू भने सत्ताको दौडबाट पछि हट्न तयार देखिएका छैनन् ।
जनतामा राजनीतिक दलप्रतिको वितृष्णा बढ्दै गएको अवस्थामा समेत सत्ता प्राप्तिका लागि ती नेताहरूले विभिन्न राजनीतिक हत्कण्डा अपनाउने र नयाँ नयाँ नाटक मञ्चन गर्ने क्रम रोकिएको छैन ।
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वबाट पछि हट्न नमान्ने अवस्थामा देखिएका छन् भने पार्टीभित्रै उनलाई विस्थापित गर्नुपर्ने आवाज पनि जोडदार रुपमा उठ्दै आएको छ ।
महेश बस्नेत र सूर्य थापा बाहेक एमालेका वरिष्ठ नेताहरु सवै एमाले अध्यक्ष ओली विरुद्धमा सडकमा उत्रनु भएको छ भने ओली आफैले लज्जाजनक रुपमा पार्टीको अध्यक्षबाट राजीनामा नदिने प्रण गर्दै आएको छ ।
ओलीको अहम्ले पार्टीलाई झण्डै झण्डै मसानघाटमा पुऱ्याउने भएको ओलीको घमण्डीलाई देशभरका अधिकांश एमाले कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् ।
ओलीको नेतृत्वलाई लिएर एमालेभित्र देखिएको असन्तुष्टि र शक्ति संघर्षले पार्टीको आगामी राजनीतिक दिशामाथि प्रश्न खडा गरेको छ । एकातर्फ नेतृत्व जोगाउने प्रयास भइरहेको छ भने अर्कोतर्फ नेतृत्व परिवर्तनको कसरत भइरहेको देखिन्छ ।
यस्तै, नेपाली कांग्रेसको अवस्था पनि त्यसबाट अलग छैन । चुनदेवीका कांग्रेस सभापति शेरबहादुर देउवा र सानेपाका सभापति गगन थापासहितका नेताहरूबीच राजनीतिक धार र भावी नेतृत्वलाई लिएर स्पष्ट विभाजन देखिएको छ ।
पार्टीको भविष्य, नेतृत्व हस्तान्तरण र सत्ता समीकरणका विषयमा दुई धारमा देखिएका नेताहरूको संघर्षले कांग्रेसभित्रको आन्तरिक दूरी थप बढाइरहेको छ । यसैगरी, नेकपा माओवादी केन्द्र भने आफ्नो राजनीतिक 'बीउ' जोगाउने चुनौतीमा पुगेको छ ।
लामो समयसम्म नेपाली राजनीतिमा निर्णायक शक्ति बनेको माओवादी अहिले आफ्नो जनाधार र संगठन जोगाउन हम्मेहम्मे परेको अवस्थामा छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का लागि समेत आफ्नै राजनीतिक अस्तित्व र प्रभाव कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
लामो समय सम्म प्रभावशाली नेताको रुपमा गनिदै आएका प्रचण्डको विरोधमा जनार्दन शर्मा जस्ता ठूला नेताहरुले विरोध गर्दै प्रचण्डको कार्यशैलीलाई तीव्र विरोध गरिरहेका छन् । कुनै समय राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने प्रचण्ड अहिले आफ्नो राजनीतिक विरासत जोगाउने दबाबमा छन् ।
यसै सन्दर्भमा मधेस केन्द्रित दलहरूको अवस्था झन् दयनीय बनेको छ । एकता र सहकार्यभन्दा आन्तरिक विवाद, नेतृत्वको टकराव र विभाजनले प्राथमिकता पाउँदा मधेसवादी शक्ति पटक-पटक टुक्रिदै गएका छन् ।
जनताका मुद्दालाई केन्द्रमा राखेर बलियो राजनीतिक शक्ति बन्नुपर्ने दलहरू आफ्नै अस्तित्व र नेतृत्वको विवादमा अल्झिँदा उनीहरूको राजनीतिक प्रभाव कमजोर हुँदै गएको छ ।
सिके राउत र उपेन्द्र यादव जस्ता आपसमा विचार नमिल्ने राजनीतिक दुस्मनी भएतापनि पछिल्लो समय अग्रगामि मोर्चा बनाएर एक साथ रहन बाध्य भएका छन् । यसरी हेर्दा प्रमुख पुराना दलहरू नै अहिले नेतृत्व संकट, गुटबन्दी, विभाजन र अस्तित्वको लडाइँमा फसेका छन् ।
विडम्बना के छ भने जनताले विकल्प खोजिरहेका बेला पनि यी दलका अधिकांश नेताहरू सत्ता र शक्तिको राजनीतिबाट अलग हुन तयार छैनन् । सत्तामा पुग्नका लागि गठबन्धन फेरबदलदेखि गुट परिवर्तनसम्मका अनेकौ राजनीतिक प्रयोग भइरहेका खबर अर्पणमा उल्लेख छ ।
राजनीतिलाई जनसेवा र नीति निर्माणको माध्यमभन्दा सत्ता प्राप्तिको साधन बनाउने प्रवृत्तिले दलहरूभित्र मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थाप्रति नै जनविश्वास कमजोर बनेको छ ।
नेताहरू आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्न संघर्ष गरिरहँदा जनता भने राजनीतिक स्थायित्व, सुशासन, रोजगारी र विकासको खोजीमा छन् ।
अहिलेको राजनीतिक अवस्थाले पुराना दलका नेताहरूलाई गम्भीर धर्मसंकटमा पुयाएको छ- सत्ता छाड्ने कि राजनीतिक अस्तित्व जोगाउने? जनताको विश्वास गुमाउँदै गए पनि सत्ताको मोह त्याग्न नसक्ने प्रवृत्ति कायम रहदा पुराना दलहरूका नेताहरु आ-आफनै पार्टी भित्र नांगिदै गएका छन् ।
