अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला
अर्घाखाँची, ६ भदौः कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स (अनुज्ञापत्र) लिन आवेदन खुला गरिएको छ । डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सिकार गर्न इच्छुक नागरिकलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो ।
राते मृग, चित्तल र बँदेलको सिकारका लागि तोकिएको कानुनी प्रक्रिया पूरा गरी जिल्ला सिकार अनुज्ञापत्र लिन सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताउनुभयो । यसका लागि इच्छुक नेपाली नागरिकले यही भदौ १० गतेभित्र जिल्लास्थित डिभिजन वन कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
वन्यजन्तुबाट हुने तथा भइसकेको कृषि बाली र मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० तथा प्रचलित कानुनमा तोकिएको व्यवस्थाअनुसार सिकार अनुज्ञापत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा सिकार गर्न चाहने व्यक्तिले निर्धारित ढाँचामा निवेदन दिनुपर्ने जनाइएको छ । निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेस गर्नुपर्ने छ ।
वन्यजन्तु संरक्षणका दृष्टिले संवेदनशील मानिने सिकार गतिविधिलाई व्यवस्थित र नियमन गर्न सरकारले कानुनी रूपमा अनुज्ञापत्रको व्यवस्था गरेको वन कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो । अनुमतिप्राप्त नगरी वन्यजन्तुको सिकार गर्नु गैरकानुनी मानिने भएकाले सिकारमा रुचि राख्ने व्यक्तिले सम्बन्धित निकायबाट आवश्यक अनुमति लिएरमात्रै गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
अर्घाखाँचीमा वन्यजन्तु तथा वन क्षेत्रको संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण पनि चुनौतीका रूपमा रहँदै आएको छ । विशेषगरी वन क्षेत्र आसपासका बस्तीमा वन्यजन्तुले कृषि बालीमा क्षति पुर्याउने, पशुचौपायामा आक्रमण गर्ने, कहिलेकाहीँ मानवीय जोखिम निम्त्याउनेलगायत समस्या छन् । यस्तो अवस्थामा कानुनले तोकेको सीमाभित्र रहेर सिकार तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी गतिविधिलाई अघि बढाउने सरकारी नीति रहेको खड्काले उल्लेख गर्नुभयो ।
यसैबीच, डिभिजन वन कार्यालयले सिकार अनुज्ञापत्र वितरणको प्रक्रिया पारदर्शी र प्रचलित कानुनअनुसार हुने स्पष्ट पारेको छ । कार्यालयमा प्राप्त निवेदन तथा कागजातको आवश्यक जाँचपछि मात्रै सम्बन्धित व्यक्तिलाई अनुज्ञापत्र प्रदान गरिने कार्यालयका डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो । सिकारका नाममा वन्यजन्तुको अवैध ओसारपसार, चोरीनिकासी वा गैरकानुनी गतिविधि हुन नदिन वन कार्यालय र सम्बन्धित सुरक्षा निकायले निगरानी पनि बढाउने उहाँले बताउनुभयो ।
