महाकवि देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ सार्वजनिक
काठमाडौँ, ३० साउनः महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ आज सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बुवाहजुर’ महाकाव्य सार्वजनिक गरिएको हो ।
कवयित्री मन्जिला शर्मा उप्रेती अर्थात् मन्जिला अनिलले लेख्नुभएको महाकाव्य सार्वजनिक समारोहलाई सम्बोधन गर्नुहुँदै महाकवि देवकोटाका सुपुत्र प्रा पद्प्रसाद देवकोटाले महाकविका विषयमा लेखिएको यो १५ औँ महाकाव्य भएको जानकारी दिनुभयो ।
भागवत कुञ्जका अध्यक्ष अजितप्रसाद गौतमले महाकवि देवकोटाका विषयमा चलेका केही अफवाह अन्त्य गर्न महाकाव्य सफल भएको बताउनुभयो । तथ्य विनाका ती हल्लालाई महाकाव्यले छन्दोबद्ध कविताका हरफमा प्रमाणसहित अन्त्य गर्न सफल भएको उहाँको भनाइ थियो ।
‘बुवाहजुर’ महाकाव्यका बारेमा समीक्षा गर्नुहुँदै प्रा डा देवी नेपाल र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले महाकवि देवकोटाका विषयमा परिवारकै एक सदस्यले लेखेको महाकाव्यबाट पाठकले नयाँ जानकारी पाउने बताउनुभयो । विभिन्न छन्दमा लेखिएको महाकाव्य पठनीय रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा अनेसास नेपाल शाखाका अध्यक्ष राजेन्द्र केसी र आजीवन सदस्य डा घनश्याम खतिवडालगायतले नेपाली साहित्यमा महाकवि देवकोटाले दिनुभएको योगदानका बारेमा महाकाव्यमा चर्चा गरिएको जानकारी गराउनुभएको थियो ।
