अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौं, ९ भदौ : काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ९० हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिराहा सिरहा नगरपालिका-१४ ठेगाना भएका २७ वर्षीय रितेष कुमार यादव र सिराहा मिर्चैया नगरपालिका-३ ठेगाना भएका २२ वर्षीय अभिषेक यादवलाई ३७ ग्राम सहित बिहीबार, मोरङ बेलवारी नगरपालिका-१० ठेगाना भएका २९ वर्षीय मनोज बस्नेतलाई १३ ग्राम ९ सय ५० मिलिग्राम सहित शुक्रबार र १७ वर्षीया किशोरीलाई ९८ ग्राम सहित शनिबार पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका-७ कुमारी गालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय विकाश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति होटल एण्ड गेष्ट हाउसको १२३ नम्बरको कोठाबाट सिराहा अर्नामा गाउँपालिका-२ घर भएका ३० वर्षीय सुरज कुमार महत्तो र सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय ४० मिलिग्राम र डिजिटल तराजु सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ६ सय मिलिग्राम र नगद २१ हजार रूपैयाँ सहित काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका-१ घर भएका २६ वर्षीय प्रदिप कुमार कुशवाह समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्व्रबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नाईट्रोसन ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ हात्तीसार बस्ने ३० वर्षीय मनिराज राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, सोनमा गाउँपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २१ किलो १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बौधीमाई नगरपालिका-२ इनर्वा टोल बस्ने ४३ वर्षीय गर्भु प्रसाद पटेल र महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने ३६ वर्षीया उषा कुमारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प ३२९४ नम्बरको मोटरसाइकमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उषाको गौशाला नगरपालिका-४ पानी ट्याङ्की नजिक डेरा कोठाबाट गाँजा जस्तो देखिने पदार्थ १० किलो ३ सय ७५ ग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।
जाजरकोट, नलगाड नगरपालिका-७ कालिमाटी बस्ने २२ वर्षीय नरेन्द्र सुनार र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय पुनित शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ३९ हजार ९ सय ३५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला कारागार जाजरकोटामा थुनामा रहेका व्यक्तिलाई भेट्न आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २४ वर्षीय अरबस अनसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ट्याब्लेट सहित सिन्धुली दुधौली नगरपालिका-३ बस्ने २९ वर्षीय रोशन भुजेललाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले गाईघाटबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९७१६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, शान्तिनगर गाउँपालिका-४ गब्दुवा सुन्दर सामुदायिक वन जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-१ पाठक चोक बस्ने २७ वर्षीय रबिन भन्ने चुरामणी धिताललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुमित पौदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कर कार्यालय नजिकै डेरा गरी बस्ने दैलेख नारायण नगरपालिका-८ घर भएका ३१ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-४ ललितपुर बस्ने २१ वर्षीय दरपन यादव र २३ वर्षीय असिम आलम शेख रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
