विपद्मा आदेश कुरेर नबस्न सशस्त्र प्रहरीलाई महानिरीक्षक पौडेलको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्को समयमा माथिल्लो तहको आदेश पर्खेर बस्ने प्रवृत्ति त्याग्दै परिस्थिति र जिम्मेवारीको गाम्भीर्यता बुझेर तत्काल परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
साउन ६ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा ‘आदेशभन्दा पहिले जिम्मेवारीबोध’ आवश्यक रहेको बताएका हुन्।
उनले विपद् व्यवस्थापन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिए। विपद् आउनेबित्तिकै उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा ढिलाइ नहुने गरी कार्यक्षेत्रमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन, राजमार्ग सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रणलगायत आन्तरिक सुरक्षाका क्षेत्रमा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै अबका दिनमा कर्मचारी अझ व्यावसायिक, इमानदार, नैतिकवान् र कर्तव्यनिष्ठ बन्नुपर्ने बताए। परिस्थितिअनुसार तत्काल निर्णय लिन सक्ने क्षमता सुरक्षा संगठनका कर्मचारीमा अपरिहार्य रहेको उनले स्पष्ट पारे।
पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका जातीय, धार्मिक तथा साम्प्रदायिक विवादले सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै पौडेलले संवेदनशील घटनामा परिचालन हुँदा मानवअधिकारको पूर्ण सम्मान गर्न निर्देशन दिए।
कानुनी सीमाभित्र रहेर न्यायोचित र आवश्यक अवस्थामा मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले सुरक्षा परिचालन तथा कारबाहीमा सशस्त्र प्रहरी बलको व्यावसायिकतामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन सचेत गराए।
व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा संगठनको हितलाई माथि राख्न निर्देशन दिँदै उनले कमाण्डर र नेतृत्वसँग हातेमालो गरेर एउटै लक्ष्यका साथ अघि बढ्न कर्मचारीलाई आग्रह गरे। ‘म होइन, हामी’ भन्ने भावनाका साथ जिम्मेवारी निर्वाह गरे संगठनसँगै व्यक्तिगत वृत्तिविकासका अवसरसमेत स्वतः सिर्जना हुने उनको भनाइ थियो।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन सीमावासीसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा पनि महानिरीक्षक पौडेलले जोड दिए। सीमावासीको विश्वास, सहयोग र सहभागिता सीमा व्यवस्थापनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई थप सुदृढ बनाउन निर्देशन दिए।
आपद्–विपद्मा परेका नागरिकको उद्धार, सेवा र सुरक्षामा सशस्त्र प्रहरीलाई भरोसायोग्य संगठनका रूपमा स्थापित गर्नुपर्ने बताउँदै पौडेलले प्रत्येक कमाण्डरले दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गर्नुपर्ने बताए।
वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम, वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र बाहिनीलाई सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
