वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, २१ असोज : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१ घर भएका ३३ वर्षीय कविराज चौलागाई, काठमाडौं महानगरपालिका-१२ बस्ने सुनसरी इनरूवा नगरपालिका-१ घर भएका ३४ वर्षीय गोपाल भण्डारी, ललितपुर ललितपुर महानगरपालिका-१४ बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-५ घर भएका २९ वर्षीय गोविन्द घिमिरे र महालक्ष्मी नगरपालिका-५ बस्ने उदयपुर बेलका नगरपालिका-३ घर भएका २८ वर्षीय रूपेश माल रहेका छन् ।
पक्राउ मध्ये कविराजले इटाली पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, गोपालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, गोविन्दले कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ४५ हजार रूपैयाँ र रूपेशले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कविराजलाई काठमाडौं महानगरपालिका-१२ बाट, गोपाललाई काठमाडौं महानगरपालिका-१० बाट र गोविन्दलाई ललितपुर ललितपुर महानगरपालिका-१४ बाट सोमबार तथा रूपेशलाई महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
