Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार | रासस

 काठमाडौँ, ३१ असोजः ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज   क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।

    नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो । क्यानडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ ।

    नेपाल पनि लगातार तेस्रो जित निकालेर शीर्ष छमा स्थान सुरक्षित गर्ने योजनामा छ । नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

    तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ । नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अङ्क जोडेको छ । सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ ।

    यस श्रृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ । पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो । यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित हात पार्ने नेपालको योजना छ ।

    यता क्यानडा भने पहिलो खेलको हारको बदला लिँदै शीर्ष छमा पर्ने सम्भावना जीवित राख्न चाहन्छ । उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराउँदै आफ्नो क्षमता देखाइसकेको छ । उक्त खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले २५६ रन बनाएको थियो । त्यसैले शनिबारको प्रतिस्पर्धामा नेपालले क्यानडाको ब्याटिङलाई रोक्नुका साथै आफ्नो ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ ।

    नेपालले जारी शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । क्यानडाविरुद्ध २३५ रन बनाएको नेपालले ओमानसँगको खेलमा २६३ रन जोडेको थियो । अहिलेसम्म शृङ्खलामा पहिले ब्याटिङ गर्ने टोलीले जित निकालेकाले टस र सुरुआती ब्याटिङले पनि खेलको नतिजामा प्रभाव पार्न सक्छ ।

क्यानडासँग नेपालको विगत
    नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तरराष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन् । नेपालले सन् २०२४ मा क्यानडासँग पराजय बेहोरेयता खेलेको पछिल्लो खेलमा जित निकालेको थियो । शनिबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ ।

    नेपालले क्यानडालाई हराएमा शीर्ष छमा आफ्नो स्थान सुनिश्चित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्ध दबाब कम गर्न सक्नेछ । तर, पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan