Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँमा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना : सत्य र सुशासनको बाटोमा अघि बढ्न आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार |

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले रसुवा, नुवाकोट, गोरखालगायतका क्षेत्रमा भएको विनाशकारी विपद्को पीडा ताजै रहेका बेला आएको दसैँमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै दसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन्। उनले नेपालीहरूको महान् चाड बडादसैँले हरेक घरमा उत्सव, उमङ्ग र आत्मीयता ल्याओस् भन्ने कामना गरेका छन्।

उनले भूकम्प, कोभिड महामारी र अघिल्लो वर्षको जेनजी आन्दोलनपछिको तनावपूर्ण परिस्थितिमा समेत नेपालीहरूले आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउँदै चाडपर्व मनाउँदै आएको स्मरण गरेका छन्। यस वर्ष पनि विभिन्न क्षेत्रमा भएको विनाशको शोकबीच दसैँ आएको उल्लेख गर्दै उनले विपद्बाट प्रभावित नागरिकको पीडाप्रति संवेदनशील हुनुपर्ने बताएका छन्।

विस्थापितको पुनःस्थापनामा सरकार प्रतिबद्ध

प्रधानमन्त्री शाहले विपद्मा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको जानकारी दिएका छन्।

उनले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै प्रत्येक व्यक्तिले आफूभित्र रहेका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्नुपर्ने बताएका छन्।

काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कार मानव दुःखका प्रमुख कारण रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस्ता प्रवृत्तिमाथि विजय प्राप्त गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड

प्रधानमन्त्री शाहले चाडपर्वको समयमा पनि परिवारसँग भेटघाट गर्न नपाउने लाखौँ नेपालीको पीडालाई स्मरण गरेका छन्। बाध्यताले विदेशिनुपर्ने अवस्था र दसैँमा घर फर्कन चाहँदाचाहँदै पनि परदेशमै बस्नुपर्ने नियति परिवर्तन गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।

उनले पारिवारिक मिलन र आत्मीयताको पर्वका रूपमा रहेको दसैँमा गाउँका घरआँगन रित्तिँदै जानु दुःखद यथार्थ भएको उल्लेख गरेका छन्। देशभित्रै रोजगारी र आर्थिक अवसर सिर्जना गर्दै नागरिकको जीवनस्तर सुधार गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्।

सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आर्थिक सम्पन्नताको बाटोमा अघि बढ्नुका साथै सुशासन कायम गर्न सरकार अहोरात्र खटिरहेको बताएका छन्।

आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने धारणा राख्दै प्रधानमन्त्री शाहले प्रत्येक नागरिकको आर्थिक सम्पन्नताले नै चाडपर्वको रौनक थपिने बताएका छन्।

अन्त्यमा उनले माता दुर्गाभवानीको कृपा सबैमा रहोस् भन्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन्। उनले सबै नेपालीको जीवनमा आरोग्य, सुख, शान्ति र समृद्धि छाओस् भन्ने कामनासमेत गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan