प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता, नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेर पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत सहयोग र ऐक्यबद्धता जनाउनुभएकोमा पनि उहाँले धन्यवाद दिनुभयो।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य गर्न सकिने सम्भावनाबारे समेत चासो व्यक्त गर्नुभएको थियो।
भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर भारतीय पक्षले तयारी तीव्र पारेको जानकारी गराउनुभयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल र फलदायी बनाउन आवश्यक तयारी भइरहेको बताउनुभयो।
त्यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयन क्षेत्रसँग सम्बन्धित नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि मिस्रीले गराउनुभयो।
भेटका क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको विषयमा समेत जानकारी गराइएको थियो।
उक्त रेलमार्गमा आजै परीक्षण सञ्चालनसमेत गरिएको भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो।
भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा आगामी उच्चस्तरीय भ्रमणलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको छ।


