Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस)

भक्तपुर, २८ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नौ वर्षदेखि रोकिएको रानीकोट गढीको पुरातात्विक उत्खनन पुनः सुरु गरी संरक्षण र पुनःनिर्माण गर्न पुरातत्व विभागको ध्यानाकर्षण गराउनुभएको छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ र ८ मा रहेको रानीकोट गढी तथा घ्याम्पेडाँडा–रानीकोट सडकखण्डको अनुगमनका क्रममा उहाँले ऐतिहासिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

    पुरातत्व विभागले विसं २०७४ मङ्सिर १० देखि १६ गतेसम्म गरेको प्रारम्भिक उत्खननका क्रममा मल्लकालीन दरबारका अवशेष, इँट्टा र झिँगटी फेला पारेको थियो । थप उत्खनन गर्ने भन्दै रोकिएको काम नौ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन ।

    मुख्यमन्त्री थापामगरले रानीकोट गढी उपत्यकाको प्राचीन बस्ती, सुरक्षा व्यवस्था र ऐतिहासिक राजनीतिक गतिविधिसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएकाले थप अध्ययन, उत्खनन र संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले गढीको पुनःनिर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले रानीकोट हुँदै काभ्रेपलाञ्चोकको पनौती जोड्ने छोटो सडकको भक्तपुर खण्ड घ्याम्पेडाँडा–रानीकोट सडक वर्षाका कारण जीर्ण बनेको उल्लेख गर्दै स्तरोन्नतिका लागि पहल र सम्बन्धित निकायबीच समन्वय गरिने बताउनुभयो ।

    अनुगमनका क्रममा स्थानीय पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले सडकको जीर्ण अवस्थाले पर्यटकको आवागमनमा असर परेको जानकारी गराउनुभयो । उहाँले रानीकोट गढीको उत्खनन, संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

    सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले घ्याम्पेडाँडा–रानीकोट सडक स्तरोन्नति गरी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त सडकबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने र काभ्रेपलाञ्चोकतर्फ सडक स्तरोन्नतिको काम भइरहेको जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan