Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुन्धारा र डिल्लीबजार कारागारमा ‘भिआईपी बन्दी’ को आकर्षण, भट्ट–अग्रवालको भव्य स्वागत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार १५ सोमबार |
newsabhiyan

काठमाडौं, १५ असार । पछिल्ला वर्षहरूमा उच्च पदस्थ पूर्वकर्मचारी, व्यवसायी, पूर्वप्रहरी अधिकारी, राजनीतिक पहुँच भएका व्यक्ति तथा चर्चित आर्थिक अपराधका अभियुक्तहरू थुनामा परेपछि उनीहरूलाई कहाँ राख्ने भन्ने विषय पनि चर्चा र चासोको विषय बन्न थालेको छ।

विशेषगरी काठमाडौंका डिल्लीबजारस्थित सदरखोर र सुन्धारास्थित कारागारमा ‘भिआईपी बन्दी’हरूको उपस्थिति उल्लेख्य देखिने गरेको छ।

केही दिनअघि विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका दीपक भट्ट र सुलभ अग्रवाललाई डिल्लीबजार सदरखोर पुर्यागइएपछि त्यहाँ रहेका अन्य चर्चित बन्दीहरूले उनीहरूको स्वागत गरेका थिए।

कारागार स्रोतका अनुसार उनीहरू पुगेपछि केही बन्दीहरूले भेटघाट गर्दै हौसला व्यक्त गरेका थिए, जसले कारागारभित्रको ‘भिआईपी नेटवर्क’बारे पुनः बहस सुरु गराएको छ।

स्रोतका अनुसार विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै भट्ट र अग्रवालले आफूहरूलाई पनि डिल्लीबजार सदर खोरमै राख्न अनुरोध गरेका थिए। उनीहरूको अनुरोधपछि सम्बन्धित निकायले व्यवस्थापन मिलाएको बताइन्छ।

भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ।

कारागार प्रशासनका जानकारहरूका अनुसार डिल्लीबजार सदरखोरमा अधिकांश आर्थिक अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा चर्चित प्रकृतिका अभियुक्तहरू रहने भएकाले नयाँ आउने भिआईपी बन्दीहरू पनि त्यहीँ बस्न चाहने प्रवृत्ति देखिन्छ।

उनीहरूबीच पहिलेदेखिको चिनजान, कानुनी परामर्श आदानप्रदान तथा भेटघाटको सहजताका कारण पनि यस्तो रोजाइ हुने बताइन्छ।

यद्यपि, कारागार व्यवस्था विभागका अधिकारीहरू भने कैदीबन्दीलाई कहाँ राख्ने भन्ने निर्णय कारागारको क्षमता, सुरक्षा अवस्था, अदालतको आदेश तथा प्रशासनिक व्यवस्थापनका आधारमा हुने बताउँछन्।

कुनै पनि बन्दीलाई व्यक्तिगत चाहनाअनुसार मात्र कारागार चयन गर्ने व्यवस्था कानुनमा नरहेको उनीहरूको भनाइ छ।

यसबीच, कारागारभित्र भिआईपी बन्दीहरूलाई विशेष व्यवहार हुने गरेको भन्ने आरोप बेलाबेला उठ्ने गरेको छ।

मानवअधिकारकर्मीहरू भने कानुनको दृष्टिमा सबै बन्दी समान हुनुपर्ने र कारागारभित्र कुनै पनि प्रकारको विभेद वा विशेष सुविधा भए त्यसको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्छन्।

हाल डिल्लीबजार र सुन्धाराका कारागारहरूमा विभिन्न चर्चित भ्रष्टाचार, आर्थिक अपराध तथा संगठित अपराधका मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका वा सजाय भुक्तान गरिरहेका कैदीबन्दीको संख्या उल्लेख्य रहेको स्रोतको दाबी छ।

यही कारण यी दुई कारागारलाई अनौपचारिक रूपमा ‘भिआईपी बन्दी केन्द्र’का रूपमा समेत चर्चा गरिने गरेको छ। 

यो पनि पढ्नुहोस् :

दीपक भट्ट पक्राउपछि राजनीतिक वृत्तमा तरंग : भ्रष्टाचारको जालोमा शीर्ष नेतादेखि पूर्व सुरक्षा अधिकारीसम्मको छानबिन माग

नेताको आडमा ‘१ नम्बर’को ६ करोडको गाडीमा हुइँकिन्थे महाविचौलिया, बालेन सरकारको अभियानपछि जेलको चिसो हावा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan