Saturday 3rd of October | २०८३ असोज १७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |
newsabhiyan

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा थप कडाइका साथ प्रस्तुत हुन मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

मधेश प्रदेशका विभिन्न सीमा नाका तथा सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी इकाइहरूको अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका हुन्। असोज १५ गते उनले मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीसहित मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा सुरक्षा बेसको निरीक्षण तथा अनुगमन गरेका थिए।

अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा समसामयिक सुरक्षा अवस्थाबारे सम्बन्धित सरोकारवाला निकाय र सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दासँग जानकारी लिएका थिए। उनले सीमा क्षेत्रमा कार्यरत कमाण्डर तथा सुरक्षाकर्मीलाई अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण र रोकथामलाई थप सुदृढ बनाउन निर्देशन दिएका छन्।
सीमा क्षेत्रमा हुने तस्करी, चोरी–पैठारी तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि पूर्वयोजना बनाएर प्रभावकारी रूपमा परिचालन हुनुपर्नेमा उनले जोड दिए। सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै उनले जिम्मेवारी निर्वाहमा उच्च सतर्कता, अनुशासन, समन्वय र व्यावसायिकता कायम गर्न आग्रह गरे।

महानिरीक्षक पौडेलले सीमा सुरक्षा केवल सुरक्षाकर्मीको प्रयासबाट मात्र प्रभावकारी नहुने भएकाले स्थानीय तह, अन्य सुरक्षा निकाय, प्रशासन तथा सीमावर्ती नागरिकसँग आवश्यक समन्वय कायम गर्नुपर्ने बताए। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँग सशस्त्र प्रहरीको सम्बन्धलाई अझ मजबुत बनाउन ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि उनले निर्देशन दिए।

सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई अनावश्यक कठिनाइ नहुने गरी सुरक्षा जाँच तथा निगरानीलाई व्यवस्थित बनाउनुपर्नेमा समेत पौडेलले जोड दिएका छन्। सुरक्षा संवेदनशीलता कायम राख्दै सीमावासी तथा सीमा वारपार गर्ने आम नागरिकको सहजतालाई समेत ध्यानमा राखेर कार्यसम्पादन गर्न उनले निर्देशन दिए।

वर्षातको समयलाई मध्यनजर गर्दै बाढी, डुबान तथा अन्य विपद्जन्य घटनामा तत्काल उद्धार तथा राहतका लागि परिचालन हुन सक्ने गरी जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्नसमेत उनले निर्देशन दिएका छन्। विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ थियो।

यसैक्रममा महानिरीक्षक पौडेलले धनुषाको जटही सीमा नाकाको समेत निरीक्षण भ्रमण गरेका थिए। उनले जटही क्षेत्रको सीमा सुरक्षा अवस्था, शान्ति सुरक्षा तथा सीमा क्षेत्रमा देखिएका समसामयिक समस्याबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग भेटघाट गरेका थिए।

मधेश प्रदेशका खुला सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणसँगै सीमावर्ती नागरिकको सुरक्षा, सहज आवागमन र स्थानीय तहसँगको समन्वयलाई सशस्त्र प्रहरीले प्राथमिकतामा राख्दै आएको छ। महानिरीक्षक पौडेलको पछिल्लो अनुगमनलाई सीमा सुरक्षामा कार्यरत इकाइको कार्यसम्पादन, परिचालन र सुरक्षा रणनीतिलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan