Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

दमौली (तनहुँ), ३० साउनः तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढेको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण सुरु गरिएको हो ।

    पुल निर्माणका लागि चितवनस्थित जलप नेपाल प्रालिसँग गत मङ्सिर २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माण २४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब रु आठ करोड १० लाखको लागतमा ५५ मिटर लामो ट्रस पुल निर्माण भइरहेको छ । 

    आयोजनाको डुबान क्षेत्रमा पर्ने उक्त स्थानमा पुलको अभावमा वर्षायाममा खोला वारपार गर्न स्थानीयवासी तथा सर्वसाधारणलाई कठिनाइ हुँदै आएको थियो । पुल निर्माण सम्पन्न भएपछि फेदीखोलामा सहज र सुरक्षित रूपमा आवतजावत गर्न सकिनेछ । यसबाट दैनिक आवतजावत गर्ने स्थानीयवासीसँगै विद्यार्थी, कृषक तथा व्यवसायीलाई समेत प्रत्यक्ष लाभ पुग्ने आयोजना प्रमुख भण्डारीले बताउनुभयो । 

    निर्माणाधीन पुलले भिमाद बजारसहित ऋषिङपाटन, जलबिरे, वाङटाङीटार, लदन, आमडाँडा, टुटुवालगायत बस्तीलाई सडक सञ्जालमार्फत जोड्नेछ । पुल बनेपछि यी क्षेत्रका नागरिकलाई आवतजावतका लागि सहज वैकल्पिक मार्गसमेत उपलब्ध हुनेछ । यस्तै ऋषिङ गाउँपालिका–७ र ८ का पुरानो ऋषिङ, पल्ट्याङलगायत बस्तीका स्थानीयवासीलाई प्रत्यक्ष सुविधा पुग्नेछ ।

    हाल खोलाका कारण आवतजावतमा हुने कठिनाइ हट्ने र भिमाद तथा ऋषिङ क्षेत्रबीचको यातायात सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ । आयोजना प्रमुख भण्डारीका अनुसार पुल निर्माणसँगै भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीच सडक पहुँच तथा यातायात सम्पर्कमा उल्लेखनीय सुधार हुनेछ । यसले स्थानीय बस्तीबीचको आवागमन सहज बनाउनुका साथै कृषि उपज तथा अन्य स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनसमेत सहयोग पुग्नेछ ।

    तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा आयोजनाको डुबान क्षेत्रमा पर्ने विभिन्न स्थानमा पूर्वाधार विकास तथा स्थानीय आवश्यकताअनुसारका संरचना निर्माणलाई प्राथमिकता दिइएको आयोजना कार्यालयले जनाएको छ । फेदीखोलामा निर्माण भइरहेको पुल पनि सोही क्रममा स्थानीय बासिन्दाको आवागमनलाई सहज बनाउने उद्देश्यले अघि बढाइएको हो ।

    पुल नहुँदा खोलाको अवस्था, मौसम तथा पानीको बहावअनुसार आवतजावत प्रभावित हुने गरेको थियो । विशेषगरी वर्षायाममा स्थानीयवासीले जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था रहेकोमा पुल निर्माणपछि उक्त समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ । पुलले भिमाद र ऋषिङ क्षेत्रका बस्तीलाई नजिक ल्याउनुका साथै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय तथा कृषि क्षेत्रमा पहुँच विस्तार गर्नसमेत सहयोग पुग्ने भण्डारीले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan