Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस/एएफपी)

इन्डोनेसियाको फ्लोरेस टापु नजिक शनिबार शक्तिशाली भूकम्प गएपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहार्यान्तोले भूकम्पमा परेका १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको तीमध्ये दुई जनाको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताउनुभएको छ ।
 
“धेरै भवनहरूका भग्नावशेषमा पीडितहरू फसेका छन्,” सुहार्यान्तोले बताउनुभयो ।
 
“प्रकोप व्यवस्थापन टोलीको पहिलो प्रयास भग्नावशेषमा फसेका  जीवित मानिसहरूको उद्धारका लागि प्रारम्भिक लक्ष्य हुनेछन्,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
 
उद्धार कार्यमा सहयोग गर्न दुई हेलिकोप्टर र एक विमान तयारी अवस्थामा राखिएका छन् ।
 
युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले समूहको ‘कोपर्निकस अर्थ अब्जर्भेसन स्याटेलाइट’हरूबाट सहयोगको प्रस्ताव गर्नुभएको छ। 

उहाँले एक्समा लेख्नुभयो, “युरोपले खोज तथा उद्धार प्रयासमा सहयोगका लागि हाम्रो आकाशको आँखा (कोपर्निकस) तैनाथ गर्न तयार छ । इन्डोनेसिया र यहाँका जनता यस विपतको घडीमा भूकम्प प्रभावित इन्डोशियासँग छन् ।” 

इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको भूकम्प जाँदा दर्जनौं घर र अन्य भवनहरू क्षतिग्रस्त भएका थिए ।

सुहार्यान्तोले भूकम्पपछि करिब दुई हजार जनालाई स्थानान्तरण गरेको बताउनुभयो । 

“मैले यति ठूलो भूकम्प कहिल्यै अनुभव गरेको थिइनँ,” केन्द्रविन्दुबाट १०० किलोमिटरभन्दा बढी पश्चिममा रहेको रुटेङ सहरमा बस्ने युलियन जुइता एकालियाले एएफपीसँग टेलिफोनमा भन्नुभयो । 

“बाहिर निस्कन दौडँदा घरभित्रका सबै कुरा तल झरेः टेलिभिजन, छोराका ट्रफीहरू, भाँडाका र्याकहरू, वार्डरोबमाथि राखिएका सुटकेसहरू। बाहिर पुग्दा मेरो छोरा र छिमेकीहरू त्यहाँ थिए, डरले चिच्याइरहेका।”

उद्धार अधिकारी फाथुर रहमानले एएफपीलाई भन्नुभयो, “ध्यान अहिले भग्नामवशेषमा फसेका पीडितहरू फेला पार्न केन्द्रित छ, तर पहिरोले सडक अवरुद्ध भएकाले उद्धार कार्य जटिल बनेको छ।”

केन्द्रविन्दु नजिकको नागेकेओ क्षेत्रका बासिन्दाहरू शनिबार बिहान समुद्रमा सुनामी आउने चेतावनीपछि सुरक्षित स्थानतर्फ गएका थिए तर अब त्यहाँ सुनामीको डर हटिसकेको छ।

सुनामी चेतावनी हटाइए पनि अधिकारीहरूले मानिसहरूलाई पराकम्पनले क्षतिग्रस्थ भवनहरू ढल्न सक्ने चेतावनी दिँदै तत्काल सुरक्षित स्थलमा रहन आग्रह गरेका छन् । 

इन्डोनेसिया प्यासिफिक ‘रिङग अफ फायर’ मा अवस्थित भएकाले बारम्बार भूकम्पको सामना गर्छ। यो जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्यासिफिक बेसिनसम्म फैलिएको तीव्र भूकम्पीय गतिविधि भएको क्षेत्र हो।

फ्लोरेसमा सन् १९९२ मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले सुनामी निम्त्याएको थियो र करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।

सन् २००४ मा सुमात्राको तटबाट गएको विनाशकारी ९.१ म्याग्निच्युडको भूकम्पले सुनामी निम्त्याएको थियो, जसले क्षेत्रभरि दुई लाख २० हजार जनाको मृत्यु गराएको थियो। तीमध्ये करिब एक लाख ७० हजार जना इन्डोनेसियामा थिए। यो अभिलेखित इतिहासका सबैभन्दा घातक प्राकृतिक प्रकोपहरूमध्ये एक हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan