Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

म्याग्दी, ३० साउनः म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६०० जनाभन्दा बढी सर्वसाधारणलाई उनीहरू बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ । 

    काठमाडौँ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट ६०९ जना लाभान्वित भएका हुन् । काठमाडौँमा साउन २४ गते १००, पोखरामा साउन २७ र २८ गते ३५०, बेनीमा २९ र ३० गते सञ्चालन भएको शिविरबाट १५९ जनालाई सेवा उपलब्ध गराएको गाउँ कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो । 

    सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर बजार झरेका जनप्रतिनिधि र कर्मचारी जिल्ला सदरमुकाम बेनीको शिविर सम्पन्न गरेर आज गाउँ फर्किएका छन् । 

    ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको रोकाले बताउनुभयो । 

    गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको छ । 

    बेनीमा बस्दै आउनुभएकी धवलागिरि गाउँपालिका–३ मुनाकी मनरूपी गर्बुजाले बर्खाका समयमा गाउँमा रहेको वडा कार्यालयमा पुग्दा हुने समय र खर्चको बचतका साथै झन्झट हटेको बताउनुभयो । 

    तातोपानीमा बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–४ मुदीकी ७५ वर्षीया जसिका पुनले ज्येष्ठ नागरिक र अशक्तलाई शिविरले राहत मिलेको बताउनुभयो । 

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित साथै सातवटै वडाका अध्यक्ष र सचिवहरूले शिविरमा सेवा दिनुभएको छ । धवलागिरिमा करिब तीन हजार जनालाई वार्षिक रु १० करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ ।  

    सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि औपचारिक रूपमा बसाइँसराइ गर्ने अवस्था नआओस भनेर घुम्ती शिविरमार्फत बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराउने अभ्यास गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan