जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ, २ भदौः नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा आइतबार राति निधन हुनुभएका श्रेष्ठको आज साँझ शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो ।
श्रेष्ठको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
उहाँको पार्थिव शरीरलाई शोभाभगवतीबाट ढल्को, क्षेत्रपाटी, थहिटी, बाङ्गेमुढा, असन, जनबहाल, किलागल, नरदेवी हुँदै पुनः क्षेत्रपाटी, जोगीपाखा भएर शोभाभगवती लगिएको थियो । सो क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, साहित्यकार, कलाकार, संस्कृतिकर्मी, शुभेच्छुक तथा सर्वसाधारणले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रेष्ठको निधनसँगै नेपाली साहित्यले एउटा कविमात्र नभई नेपाल र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । उहाँले करिब सात दशकदेखि कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवर्द्धनमा योगदान पुर्याउँदै आउनुभएको थियो । मदन पुरस्कार गुठीले उहाँलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मयमा योगदान पुर्याएकामा ‘जगदम्बा-श्री’बाट सम्मान गरेको थियो ।
विसं १९९२ मा काठमाडौँको न्हैकन्तला टोलमा जन्मनुभएका श्रेष्ठको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि साहित्यमा आकर्षित श्रेष्ठले विसं २००६ देखि लेखन सुरु गर्नुभएको थियो । उहाँको पहिलो कविता ‘दुई थोपा’ विसं २००९ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो ।
यसैबीच, सङ्गीतकार न्ह्यूँ बज्राचार्यले जनकवि श्रेष्ठको निधन नेपाली साहित्य तथा गीतसङ्गीत क्षेत्रका लागि अपूरणीय क्षति भएको बताउनुभएको छ । उहाँका अनुसार श्रेष्ठका सिर्जनाले नेपाली गीतसङ्गीतलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । श्रेष्ठका शब्दमा रहेका सरलता, गहिराइ र मानवीय संवेदनाले पुस्तौँपुस्तासम्म प्रभाव पार्ने क्षमता राख्ने उहाँले बताउनुभयो ।
श्रेष्ठ ‘सयौँ थरी बाजा एउटै ताल’, ‘फूलको आँखामा फूलै संसार’ लगायत कालजयी तथा चर्चित गीतका सर्जक हुनुहुन्थ्यो ।
