Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

काठमाडौँ, २ भदौ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै दूरसञ्चार सेवा प्रदायकले कानुनी र नियामकीय व्यवस्थाअनुसार स्वच्छ तथा व्यावसायिक ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ ।

एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिले आज सञ्चार मन्त्रालयमा गरेको भेटका क्रममा उहाँले दूरसञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सञ्चार मन्त्रालयका लागि सबै सेवा प्रदायक समान रहेको उल्लेख गर्नुहुँदै कानुनअनुसार व्यावसायिक गतिविधि सञ्चालन गर्ने कम्पनीलाई सरकारले आवश्यक सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

“एनसेलले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतमा भएका कमिकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आउनुपर्छ । कानुनअनुसार काम गर्ने कम्पनीलाई सरकारले समान व्यवहार गर्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो । उहाँले विगतमा भएका एनसेलका विवाद र कानुनी प्रश्नको पारदर्शी ढङ्गले छानबिन हुने स्पष्ट पार्नुहुँदै आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित कम्पनीले पनि आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताउनुभयो । दूरसञ्चार क्षेत्रमा स्वच्छ र स्वस्थ पारिस्थितिक प्रणाली (इकोसिस्टम) निर्माण गर्न सरकार तथा नियामक निकाय तयार रहेको र त्यसका लागि सेवा प्रदायक संस्थाहरूले पनि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ ।

मन्त्रालयका सहसचिवद्वय उदयबहादुर रानामगर र गौरव गिरी तथा मन्त्रालयको कानुन शाखा उपसचिव राजेशकुमार थापा सहभागी रहनु भएको सो भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई स्वच्छ र व्यावसायिक बनाउन विगतका गल्ती सच्याउने तथा भविष्यमा गल्ती हुन नदिने जिम्मेवारी सरकार तथा नियामकको रहेको बताउनुभयो । साथै, एनसेलका विगतका विवादको निरुपण तथा लाइसेन्स अवधि सकिएपछिको स्वामित्व हस्तान्तरणको काम विद्यमान विधि र कानुनभित्रै रहेर सम्पादन हुने स्पष्ट पार्नुभयो ।

छलफलमा एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले कम्पनीको सेवा र व्यावसायिक प्रणाली सुधारका लागि विभिन्न काम अघि बढाएको जानकारी गराउनुभयो । सब्स्क्रिप्सन मोडल सुधार र ‘पे एज यु गो’ प्रणाली लागू गर्ने तथा फाइभजी सेवा सुरु गर्ने सरकारी पहललाई पनि एनसेलले सकारात्मक रूपमा लिएको उहाँको भनाइ थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan