Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | रासस

 

दमौली (तनहुँ), ३ भदौः तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । 

 

बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । 

 

आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उहाँले बताउनुभयो । बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले केही समयभित्रै थप प्रगति हुने उहाँले बताउनुभयो । 

 

प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।  

 

मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सम्पन्न गर्नुका साथै दुवै किनारमा अवस्थित ग्राउटिङ टनेल आठ वटा निर्माण भएका छन् । मुख्य बाँधको कङ्क्रिटिङ कार्य २०८१ साल चैत ७ गतेदेखि सुरु भएको थियो । 

 

बाँधको फाउन्डेसनको स्थायित्वका लागि विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, ‘कन्सोलिडेसन ग्राउटिङ’ तथा ‘कर्टेन ग्राउटिङ’ कार्य भएका छन् । 

 

यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान तथा ग्याबियन निर्माण कार्य पनि निरन्तर अगाडि बढाइएको भण्डारीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan