Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिचालिस हजार सवारीसाधन कारबाहीको दायरामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | रासस

 

महेन्द्रनगर, ३ भदौः सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ । 

 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।

 

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए । 

 

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । गत साउनमा मात्रै ट्राफिक कारबाहीबाट रु ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको छ ।

 

साउनमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ८७ जना चालकलाई कारबाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

 

ट्राफिक नियम पालना नगर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जिप÷कार, ट्रक र ट्याक्टरलगायतका सवारीसाधन बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए । 

 

यसैगरी, आठ हजार ८९३ जिप÷कार, छ हजार २८५ ट्रक, तीन हजार ७११ ट्याक्टर, एक हजार ७८५ बस र चार हजार ८९० अन्य सवारीसाधन कारबाहीमा परेका थिए ।

 

प्रहरी उपरीक्षक कार्कीले सुदूरपश्चिममा सवारीसाधनको सङ्ख्या बढ्नु, सडक साँघुरा हुनु तथा ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढेको बताउनुभयो । 

 

ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 

 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परी २५० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक हजार ३८१ जना गम्भीर र एक हजार १६२ जना सामान्य घाइते भएका थिए ।

 

गत वर्ष लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालकलाई कारबाही गरिएको थियो भने मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ६४१ चालकलाई कारबाही गरी जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan