Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | रासस

 

नेपालगञ्ज, ३ भदौः बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।

 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न  समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो । 

 

बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र वडा नं १२ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतको सहभागिता थियो ।

 

बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको गतिमा १४ दशमलव दुई किलोमिटर दूरी पार गर्न न्यूनतम २४ देखि अधिकतम २८ मिनेट समय निर्धारण गरिएको थियो । अब उक्त समय घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिएको छ ।

 

वैज्ञानिक अध्ययनबाट सो दूरी २१ देखि २४ मिनेटमा पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट यात्रुको कम्तीमा सात मिनेट समय बचत हुनेछ । 

 

राजमार्गमा पर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु सहअस्तित्व र सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना तथा साइनबोर्ड राख्ने निर्णय गरिएको छ । यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।

 

बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको पर्यटन गन्तव्यका रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड एवम् सूचना बोर्ड राखिनेछ ।

 

बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan