भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको औपचारिक भ्रमण सम्पन्न
काठमाडौँ : प्रधान सेनापति महारथी शोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ (General Dhiraj Seth, PVSM, UYSM, AVSM) तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०८३ भाद्र ०३ गते स्वदेश फिर्ता हुनु भएको छ।
उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदिप जंग के.सी. र उहाँकी धर्मपत्नीले बिदाइ गर्नु भएको थियो।
भ्रमणको दौरान जनरल सेठलाई सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नु भएको थियो।
जनरल सेठले आफ्नो भ्रमणको दौरान सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री एवम् रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो।
यस भ्रमणले दुई देश बिच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुगेको छ।
