चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार
चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अधिकतम सीमा बढाएर २२० अर्ब युआन (करिब ४६ अर्ब अष्ट्रेलियाली डलर) पु¥याइएको पीबीओसीले बुधबार जनाएको छ ।
यसअघि सम्झौताको अधिकतम सीमा २०० अर्ब युआन (करिब ४१ अर्ब अष्ट्रेलियाली डलर) थियो । दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने पीबीओसीले जनाएको छ ।
पीबीओसीका अनुसार सम्झौताको नवीकरण र सीमा विस्तारले चीन र अष्ट्रेलियाबीच मौद्रिक तथा वित्तीय सहयोग थप सुदृढ गर्नुका साथै द्विपक्षीय व्यापार तथा लगानीलाई सहजीकरण गर्न र वित्तीय बजारको स्थिरता कायम गर्न सहयोग पुग्नेछ ।
आरबीएका अनुसार, सम्झौताअन्तर्गत दुवैमध्ये कुनै पनि केन्द्रीय बैङ्कले आवश्यकताअनुसार व्यवस्था कार्यान्वयनमा ल्याउन सक्नेछन् । यस क्रममा दुवै बैङ्कले तोकिएको सीमाभित्र स्थानीय मुद्राको विनिमय गर्न सक्नेछन् ।
चीन र अष्ट्रेलियाबीच सन् २०१२मा पहिलोपटक यस्तो मुद्रा विनिमय व्यवस्था स्थापना भएको थियो । त्यसयता नियमित रूपमा नवीकरण हुँदै आएको सम्झौता पछिल्लोपटक सन् २०२१ को जुलाईमा थप पाँच वर्षका लागि नवीकरण गरिएको थियो ।
आरबीएका अनुसार, यस्ता मुद्रा विनिमय सम्झौताले विशेषगरी वित्तीय बजारमा दबाब वा अस्थिरता देखिएका बेला केन्द्रीय बैङ्कलाई स्थानीय मुद्रामा व्यापारिक भुक्तानी व्यवस्थापन गर्न सहयोग पु¥याउँछन् ।
चीन र अष्ट्रेलियाबीचको व्यापारिक सम्बन्ध पनि पछिल्ला वर्षमा विस्तार हुँदै गएको छ । चीनको भन्सार प्रशासनका अनुसार सन् २०२६ को पहिलो छ महिनामा दुई देशबीचको वस्तु व्यापार १३१ दशमलव पाँच अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव नौ प्रतिशत बढी हो । यस अवधिमा अष्ट्रेलियाबाट चीनतर्फको आयात ४५ प्रतिशत बढेर ८९ दशमलव छ अर्ब अमेरिकी डलर पुगेको छ ।
चीन–अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौता सन् २०१५को डिसेम्बरदेखि कार्यान्वयनमा छ । सन् २०२५ को जुलाईमा दुवै देशले उक्त सम्झौतामा रहेको समीक्षा संयन्त्र सक्रिय गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
