Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस/एएनआई)

ढाका, ३ भदौ : भारत र बङ्गलादेशबीच कूटनीतिक अनिश्चितता कायम रहे पनि दुवै देशका व्यवसायीहरूले व्यापार, लगानी र उत्पादनका क्षेत्रमा सहकार्य विस्तार गरी आर्थिक सम्बन्धलाई द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण आधार बनाउन सकिने बताएका छन् ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला व्यवसायीहरूको पछिल्लो सक्रियताले आर्थिक सम्बन्धमार्फत दुई देशबीचको दूरी कम गर्न सकिने सम्भावना देखाएको छ ।

भारतीय उद्योग परिसङ्घ (सीआइआई) को एक प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरी सरकारका मन्त्री तथा बङ्गलादेशी व्यापारिक समुदायका प्रतिनिधिसँग छलफल गरेको थियो ।

भेटवार्तापछि भारतीय व्यवसायीहरूले बङ्गलादेशसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्ने र विभिन्न क्षेत्रमा लगानीका अवसर खोज्ने इच्छा व्यक्त गरेका छन् ।

सीआइआई प्रतिनिधिमण्डलका प्रमुख चन्द्रजित बनर्जीले भारतबाट विभिन्न क्षेत्रका बलिया व्यावसायिक प्रतिनिधि बङ्गलादेश आएको बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिमण्डलमा बङ्गलादेशमा लगानी गरिरहेका तथा भारत–बङ्गलादेशबीच आयात–निर्यात गर्दै आएका व्यवसायी सहभागी थिए । इन्जिनियरिङदेखि स्वास्थ्य सेवासम्मका विभिन्न क्षेत्रका प्रतिनिधि टोलीमा रहेको उहाँले बताउनुभयो ।

सीआइआईले बङ्गलादेशसँग व्यापार–व्यापार सम्पर्कलाई निरन्तरता दिँदै भविष्यमा विभिन्न क्षेत्रका छुट्टाछुट्टै प्रतिनिधिमण्डल बङ्गलादेश पठाउने योजना बनाएको छ ।

बनर्जीका अनुसार पूर्वाधार र भविष्यका प्रविधि सहकार्यका लागि प्राथमिक क्षेत्रका रूपमा अघि बढाइनेछ । दुवै देशका व्यवसायबीच नियमित संवाद र क्षेत्रगत सहकार्य विस्तार गर्न कार्यदल गठन गर्ने तयारीसमेत रहेको उहाँले बताउनुभयो ।

बङ्गलादेशी व्यवसायीहरूले पनि भारतसँगको सम्बन्धलाई केवल आयात–निर्यातमा सीमित नगरी प्रत्यक्ष लगानी र उत्पादन विस्तारतर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।

बङ्गलादेश फरेन इन्भेस्टर्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की) की अध्यक्ष रुपाली हक चौधरीले भारत ठूलो अर्थतन्त्र भएकाले बङ्गलादेशमा भारतीय लगानी विस्तारका लागि पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

उहाँले भारतीय व्यवसायीलाई बङ्गलादेशमा कारखाना तथा उत्पादन केन्द्र स्थापना गर्न आग्रह गरिएको जानकारी दिनुभयो । लगानीसँगै प्रविधि र ज्ञान भित्र्याउँदा बङ्गलादेशका युवा पुस्ताले नयाँ प्रविधि सिक्ने अवसर पाउने र दुवै देशका व्यवसायीबीच दीर्घकालीन साझेदारी विकास हुने उहाँको भनाइ छ ।

चौधरीले दुई देशबीच जनता–जनताबीचको सम्बन्धसँगै आर्थिक सहकार्यलाई पनि बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार दुवै देशले एकअर्काको बजार, प्रविधि, लगानी र उत्पादन क्षमताबाट लाभ लिन सक्ने गरी सहकार्य अघि बढाउन आवश्यक छ ।

यसैबीच, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको पहिलो भारत भ्रमण गराउने विषयमा दुवै देशका अधिकारीबीच केही सातादेखि छलफल भइरहेको छ । बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीको विषयले द्विपक्षीय सम्बन्धमा जटिलता थपिएको सङ्केत गरेको भए पनि भारत भ्रमण हुने अपेक्षामा रहेको छ ।

प्रधानमन्त्री रहमान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने सम्भावित भेटले दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनुका साथै व्यापार, लगानीलगायत लामो समयदेखि विचाराधीन द्विपक्षीय विषयमा छलफल गर्ने अवसर प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan