Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस/एपी)

शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र करिब एक हजार दुई सय जना घाइते भएको चार दिनपछि पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा किराना पसल, पेट्रोल पम्प तथा अन्य व्यापारिक प्रतिष्ठान पुनः सञ्चालनमा आएका छन् ।
    गत शनिबार बिहान गएको भूकम्पबाट हजारौँ घर तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि ५९ हजार ६ सयभन्दा बढी मानिस अझै पाल, उद्धार केन्द्र र अस्थायी आश्रयस्थलमा बसिरहेका अधिकारीले बताएका छन् ।
    राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पबाट ११ हजार नौ सय २५ घर, १८२ स्वास्थ्य संस्था, ६५३ विद्यालय, १८४ सरकारी कार्यालय र १७३ धार्मिक स्थलमा क्षति पुगेको छ ।
    प्रभावित समुदायमा खाद्यान्न, पारिवारिक पाल, आश्रय सामग्री र अन्य राहत सामग्रीसहित ३९८ टन राहत सामग्री पु¥याइएको एजेन्सीले जनाएको छ । पहाडी भूभाग तथा क्षतिग्रस्त र साँघुरा सडकका कारण राहत सामग्री वितरणमा भने कठिनाइ भइरहेको अधिकारीले बताएका छन् ।
    दुर्गम क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले सैन्य विमान, पानीजहाज र थप जनशक्ति परिचालन गरेको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता बर्टन पानजाइतानले बताउनुभयो ।
    पूर्वी नुसा तेङ्गरा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका लेनाले भूकम्प प्रभावित सातवटै क्षेत्रका स्थानीय सरकारहरूले विपद्पछिको पुनर्लाभ तथा प्रशासनिक कामलाई गति दिन पुनः काम सुरु गरेको बताए ।
    अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि पछि हटाइएको थियो । अधिकारीहरूले बुधबारसम्म तीन हजारभन्दा बढी परकम्प रेकर्ड गरेका छन् ।
    परकम्पको त्रासका कारण टापुभरि हजारौँ मानिस राति बाहिरै सुतिरहेका छन् । उद्धारकर्मीहरूले थप पीडितको खोजी गर्दै पहिरो र भग्नावशेष हटाइरहेका छन् ।
    आफ्ना सामान तथा पशुधन सुरक्षित राख्न धेरै मानिस क्षतिग्रस्त घरनजिकै आश्रय लिएर बसेकाले राहत वितरण थप चुनौतीपूर्ण बनेको उद्धार अभियान संयोजक फतुर रहमानले बताउनुभयो ।
    यसैबीच, मौमेरेमा बजार तथा पेट्रोल पम्प खुलेपछि ठूलो भीड लागेको छ । अत्यधिक प्रभावित मङ्गाराई रिजेन्सीको रियोमा पनि किराना पसल खुलेपछि आवश्यक सामग्री खरिद गर्न स्थानीयवासी लामबद्ध भएका छन् ।
    इन्डोनेसिया १७ हजारभन्दा बढी टापु भएको देश हो र प्रशान्त महासागरीय ‘आगोको घेरा’मा पर्ने भएकाले यहाँ भूकम्प तथा ज्वालामुखी विस्फोटको जोखिम उच्च छ । फ्लोरेसमा सन् १९९२ मा गएको भूकम्प र त्यसपछिको सुनामीमा करिब दुई हजार पाँच सय जनाको मृत्यु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan