Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपचार नपाएर छटपटाउँदै १७ वर्षीय सुरज, आमाको एउटै चाहना–छोरा बचोस्

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | इन्द्राकुमारी केसी/रासस

कैलाली, ४ भदौः “ममी, म त मरिहाल्छु कि क्या हो !” कैलालीको घोडाघोडी नगरपालिका–३ स्थित सृष्टिनगर मुक्तकमैया शिविरमा बस्ने १७ वर्षीय सुरज चौधरीले आमा रामजानकी चौधरीसँग बेलाबेला यस्तै प्रश्न गर्छन् । छोराको मुखबाट निस्कने यी शब्दले रामजानकीलाई भावुक बनाउँछन्। आर्थिक अभावका कारण छोराको उपचार गर्न नसक्दाको पीडा उहाँका लागि झनै कठिन बनेको छ ।

सुरजको शरीरभरि वर्षौंदेखि खटिरा र घाउ छन् । लामो समयदेखि फैलिएको समस्याका कारण उनको कानको आधा भाग झरेको छ । शरीरका विभिन्न भागमा रहेका घाउले उनलाई निरन्तर पीडा दिइरहेका छन् । विस्तारामा पल्टिँदा घाउमा कपडा टाँसिने र कपडा निकाल्दा थप पीडा हुने गरेको छ ।

शारीरिक पीडाका बाबजुद सुरजमा पढ्ने र साथीहरूसँग खेल्ने रहर छ । उनी हिँडडुल गर्न र बोल्न सक्छन् । आमासँग आफ्ना रहर सुनाउँछन्। विद्यालय जाने, साथीसँग खेल्ने र अरू बालबालिकाजस्तै रमाउने उनको इच्छा छ ।

“ममी, म स्कुल जान्छु,” सुरजले आमासँग भन्ने गरेका छन् । यो इच्छा पूरा हुन सकेको छैन । रामजानकीका अनुसार सुरजलाई विद्यालय भर्ना गराउन दुई ठाउँमा प्रयास गरिए पनि उनको स्वास्थ्य अवस्थाका कारण विद्यालयले भर्ना लिन मानेन ।

“स्कुल जान्छु भन्छ। दुईवटा विद्यालयमा भर्नाका लागि प्रयास गरेँ । सुरजका कारण अरू बच्चालाई समस्या हुन्छ भन्दै दुवै विद्यालयले भर्ना लिन मानेनन्,” उहाँले भन्नुभयो ।

विद्यालय जान नपाएपछि सुरजको अधिकांश समय घरमै बित्छ। साथीसँग खेल्ने रहर भए पनि उनी खेल्न जान सक्दैनन् । वरिपरिका बालबालिका खेलिरहेको देख्दा सुरज दुःखी हुने गरेको रामजानकी बताउनुहुन्छ ।

“साथीसँग खेल्न जान्छु भन्छ तर उसलाई कसैले खेलाउँदैनन् । अरू बच्चा खेलिरहेको देख्दा उसको मन दुख्छ,” उहाँले भन्नुभयो ।

रामजानकीका अनुसार सुरज जन्मिएको १० दिनदेखि नै स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उहाँले आफ्नो क्षमताले भ्याएसम्म करिब ११ वर्षसम्म छोराको उपचार गराउनुभयो । तर पछिल्लो पाँच वर्षदेखि आर्थिक अभावका कारण उपचार निरन्तर हुन सकेको छैन ।

मुक्तकमैया परिवारमा जन्मिएका सुरजको परिवार अहिले सृष्टिनगर मुक्तकमैया शिविरमा बस्दै आएको छ । परिवारको नियमित आम्दानीको भरपर्दो स्रोत छैन। दैनिक गुजारा ज्यालामजदुरीबाट हुने सीमित आम्दानीमा निर्भर छ। घरखर्च धान्नै कठिन अवस्थामा बिरामी छोराको उपचारका लागि आवश्यक रकम जुटाउनु रामजानकीका लागि ठूलो चुनौती बनेको छ।

रामजानकीका अनुसार चिकित्सकले सुरजको रगतमा समस्या देखिएको र उपचारका लागि रगत परिवर्तन गर्नुपर्ने बताएका छन् । पचारका लागि आवश्यक रकम जुटाउन नसक्दा उहाँ चिन्तित हुनुहुन्छ ।

“पैसा भएको भए छोराको उपचार गराउँथेँ। अस्पताल लैजान पाए, उपचार गराउन पाए र रोग नियन्त्रणमा आए उसको जीवन फेरि सामान्य हुन सक्छ भन्ने आशा छ,” उहाँले भन्नुभयो।

वर्षौंसम्म छोराको उपचार गराउनुभएकी रामजानकी आर्थिक अभावका कारण उपचार रोकिएपछि थप चिन्तित हुनुहुन्छ। छोराको अवस्था देख्दा उहाँलाई उपचार गराउन नसकेको पीडा हुन्छ । तर सुरजको उपचार सम्भव हुने र उनी सामान्य जीवनमा फर्किन सक्ने आशा उहाँले छाड्नुभएको छैन ।

सुरजलाई अझै विद्यालय जाने रहर छ। साथीहरूसँग खेल्ने इच्छा छ । अरू बालबालिकाजस्तै सामान्य जीवन बाँच्ने सपना छ । शरीरमा रहेका घाउले उनलाई हरेक दिन पीडा दिइरहे पनि भविष्यप्रतिको चाहना भने जीवितै छ ।

“मेरो छोरा बचाउनका लागि सकेजति सहयोग गरिदिनुहोस्,” रामजानकीले आग्रह गर्नुभयो ।

सुरजको परिवारका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता उनको उपचार हो । आर्थिक अभावका कारण रोकिएको उपचार पुनः सुरु गर्न सके सुरजले सामान्य जीवनतर्फ फर्कने अवसर पाउने परिवारको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan